पुस १, गाईघाट – एक÷डेढ हप्तायता आएर मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि उदयपुरका विभिन्न विद्यालयमा बिद्यार्थीको उपस्थिति घट्न थालेको छ ।
ह्वात्तै चिसो बढेपछि अहिले जिल्लाका बेलका नगरपालिका, चौदण्डी नगरपालिका, त्रियुगा नगरपालिकाका विद्यालयसहित पहाडी क्षेत्रका विद्यालयमा कक्षा १ देखि ५ सम्मका कक्षामा विद्यार्थीको उपस्थिति घट्न थालेको सम्बन्धित विद्यालयका शिक्षक बताउँछन् ।
चिसो बढे्दै गएपछि रौतामाई गाउँपालिकाको वडा नं ४ सल्ले, मलबाँसे बोलुङखा क्षेत्रका विद्यालयका तल्ला तहका कक्षका विद्यार्थीको उपस्थितिको सङ्ख्या ५० प्रतिशतभन्दा बढीले घटेको रौता जनता मावि सल्लेका प्राचार्य लक्ष्मी घिमिरेले जानकारी दिएका छन् । चिसो बढ्न थालेपछि विद्यार्थी विद्यालय आउन नसक्ने अवस्था भएका कारण पनि घरमै बस्न थालेका पञ्चकन्या आधारभूत विद्यालय रौता हात्तीपाइलेका शिक्षक घनश्याम राईले बताए ।
अहिले ह्वात्तै चिसो बढेका कारण जिल्लाका केही विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दा पठनपाठनमा प्रभाव पर्न थालेको राष्ट्रिय जनता मावि त्रिनपा बगाहाका शिक्षक अर्जुन खड्काले बताए । रासस