पुस १, इलाम – इलामको माई नगरपालिकामा आजदेखि अनलाइन प्रणालीमार्फत राजश्व सङ्कलन शुरु गरिँदैछ । नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि पनि अनलाइन प्रणालीमार्फत राजश्व सङ्कलन शुरु गरिएको हो ।
नगरपालिकाको काम छिटो तथा आधुनिक बनाउन पहल भइरहेका बेला यस प्रविधिले पनि सहयोग मिल्ने नगर प्रमुख दीपक थेवेले बताएका छन् । यसका लागि आवश्यक इन्टरनेट जडान भइसकेको, कम्प्युटर र दक्ष कर्मचारीसमेत नगरपालिकाले ठिक पारेको उनले जानकारी दिए ।
सदरमुकामभन्दा टाढा रहेका स्थानीय तहमा इन्टरनेटको समस्या पर्ने गर्दछ । तर यहाँ भने आवश्यक इन्टरनेट जडानपछि खासै समस्या नहुने बताइएको छ । यसअघि नै जिल्लाका इलाम, देउमाई र सूर्योदय नगरपालिकामा भने अनलाइन प्रणालीमार्फत राजश्व सङ्कलन शुरु भइसकेको छ ।