मंसिर २९, काठमाडौं –मौसमी प्रणालीको प्रभावले शनिबार केही उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात भएको छ । यो क्रम आइतबार पनि रहने भएकाले पहाडीसहित हिमाली भूभागका स्थानमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाले शनिबार साँझ मौसम पूर्वानुमान सम्बन्धी बुलेटिन जारी गर्दै नेपालमा न्यूनचापीय वायुको प्रभाव कायमै रहेको र हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बद्ली भई बाँकी भूभागमा आंशिक बद्ली रहेको जनाएको छ ।
आज पहाडी भेगको एक दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । यस्तै दिउँसो देशको पश्चिमी क्षेत्र तथा मध्य र पूर्वी पहाडी भेगमा सामान्य बदली रहनेछ भने बाँकी भेगमा आंशिक बदली तथा पश्चिमका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौँमा ३३ मिलिमिटर वर्षा भएको छ । नेपालगञ्जमा ५३, वीरेन्द्रनगरमा ३१, दिपायल र डडेलधुरामा समान २४ मिलिमिटर वर्षा भएको छ ।
त्यस्तै जुम्लामा ३६, पोखरा र दाङमा समान १७, लुम्लेमा ५०, भैरहवा र सिमरामा समान २१ मिलिमिटर वर्षा भएको छ । ताप्लेजुङमा ३८, ओखलढुङ्गामा २४, जिरीमा ३१ मिलिमिटर वर्षा भएको छ । शनिबार काठमाडौँको न्यूनतम तापक्रम ७ र अधिकतम तापक्रम १७ डिग्री सेल्सियस रहेको थियो ।