गृहमन्त्री थापा र नेपालका लागि बेलायती राजदूतबीच भेटवार्ता

मंसिर २५, काठमाडौं – गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का नवनियुक्त राजदूत निकोला पोल्लिटले आज शिष्टाचार भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग, आपसी हित र सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

सो अवसरमा गृहमन्त्री थापाले बेलायतबाट नेपालका लागि पहिलो महिला राजदूत नियुक्त  राजदूत निकोलालाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिँदै उनले कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

उनले बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिश गोरखाका केही समस्या रहेको बताउँदै उनीहरुको समस्या समाधानका लागि भूमिका खेलिदिन राजदूत निकोलालाई आग्रह गरेका छन् ।

गृहमन्त्री थापाले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास ब्यक्त गरेका छन् । उनले गृहमन्त्रालयअन्तर्गत विपद् व्यवस्थापन, नेपालका सुरक्षाकर्मीका लागि दिँदै आएको तालीम तथा भौतिक संरचना निर्माण लगातमा क्षेत्रमा बेलायतले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै अगामी दिनमा समेत ती क्षेत्रमा थप सहयोगको अपेक्षा मन्त्रालयले गरेको बताए ।