मंसिर २५, संखुवासभा – जिल्लामै शैक्षिक क्षेत्रमा नमूनाका रूपमा चिनिएको र शिक्षाका क्षेत्रमा पर्याप्त लगानी गर्दै आएको चिचिला गाउँपालिकाले अनाथ तथा असहाय बालबालिकालाई स्कूल झोला वितरण गरेको छ ।
गाउँपालिकाले यस वर्षको चालू आवमा रु एक लाख ३० हजार बजेट विनियोजन गरेर विद्यार्थीलाई गाउँपालिकाभित्रका विपन्न तथा गरीब विद्यार्थीलाई लक्षित गरी गाउँपालिकाका अध्यक्ष पासाङनुर्वु शेर्पाले झोला प्रदान गरेमा छन् ।
अध्यक्ष शेर्पाले आगामी वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिएका छन् ।
यसैबीच गाउँपालिकाले यस शैक्षिक वर्षमा एसइई पास गरी विज्ञान विषय पढ्ने चार विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गाउँपालिकाको सामुदायिक विद्यालयमा अध्ययन गरेर कक्षा ११ मा विज्ञान विषय लिएर पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था मिलाइएको अध्यक्ष शेर्पाले बताए ।
अन्य सङ्कायका विषय अध्ययन गरेका प्रशस्त युवायुवती गाउँपालिकामा रहे पनि विज्ञान विषय लिएर पढ्नेको सङ्ख्या तुलनात्मकरूपमा न्यून भएकाले प्रोत्साहन गर्न छात्रवृत्तिको व्यवस्था गरिएको हो । विज्ञान विषय अन्य प्राविधिक तथा चिकित्सा क्षेत्र पढ्नका लागि पनि जग भएकाले त्यसतर्फ प्रोत्साहन गर्नका लागि यस किसिमको छात्रवृत्ति गाउँपालिकाले व्यवस्था गरेको उहाँले स्पष्ट पारेका छन् ।