मंसिर २४, काठमाडौं – काठमाडौँ उपत्यकामा रहेका चार वटा यातायात कार्यालयमध्ये सेवाग्राहीको सबैभन्दा बढी चाप रहेको एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयमा आवश्यकतानुसार कर्मचारी छैनन् । कार्यालयमा कामको चापअनुसार कर्मचारीको संख्या कमी देखिएको हो ।
थोरै कर्मचारीबाटै काम गराउनुपर्ने हुँदा सेवाग्राहीको सधैँ भीड हुने कार्यालयका प्रमुख डम्बरबहादूर चन्दले बताए । कार्यालयमा जम्मा दरबन्दी ३८ जनाको भएकामा सोभन्दा कम कार्यरत रहेको हो ।
संविधानुसार यातायात व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको भएकाले गत वर्ष नै यातायात कार्यालयहरु प्रदेशमा गएका थिए । प्रदेश सरकारलाई आफूले कर्मचारीको अभावका बारेमा जानकारी गराएको उनले बताए ।
कार्यालयले सवारीचालक अनुमतिपत्रका लागि लिखित र प्रयोगात्मक परीक्षा लिने, वितरण गर्ने, नवीकरण गर्नेसँगै ट्राफिक प्रहरीबाट आएका अघिल्ला आर्थिक वर्षका चालक अनुमतिपत्र राख्ने र सेवाग्राही आउँदा वितरण गरिरहेको छ ।
कार्यालयमा तीन वटा भवनमा विभिन्न शाखामा र चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षाका लागि गरी धेरै कर्मचारी आवश्यक रहेको उनको भनाई रहेको छ ।