इच्छा अनुशार कृषि मन्त्रालय रोजेको हुँ – घनश्याम भुसाल

मंसिर ७, काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले आफ्नै रोजाईले कृषि मन्त्रालयको जिम्मेवारी लिएको बताएका छन्।

शनिबार लुम्बिनी प्रेस क्लब रुपन्देहीले गौतमबुद्ध विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री भुसालले यस्तो बताएका हुन्।

गुजारामुखी श्रम र परम्परागत कृषिलाई उद्यममा ल्याउनु नै आफ्नो मुख्य चासो रहेको बताएका उनले कृषि मन्त्रालय काम गर्न उपयुक्त मन्त्रालय भए पनि मन्त्रालयमा ऐतिहासिक समस्या रहेको बताए ।

उनले भने ’प्रधानमन्त्रीले मलाई कृषि मन्त्रालय अफर गर्नुभयो। कृषि हाम्रो प्राथमिक क्षेत्र भएकाले म मन्त्री बन्न राजी भएँ ।

मन्त्री भुसालले सरकारको नीति, कार्यक्रम र बजेटले गरेको अपेक्षा र खोजेको परिणाम लागू गर्नु नै आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्। ‘२०३६ साल देखि मैले नै भाषण गर्दै आएको छु, सरकार छ, राजा छ, पञ्चायत छ, कीर्तिमानी राजा छ तर जनताले किन मल पाउँदैनन्? जनताले खेती गर्ने बेलामा किन मल पाउँदैनन्? म आफैं भाषण गर्दै आएको छु,’ उनले भने।

साथै उनले भारतले नेपालको भूमि आफ्नो नक्सामा प्रकाशित गरेकाबारे पत्रकारको जिज्ञासामा भुसालले कुनै पनि राष्ट्रले बहुपक्षीय विवाद युद्धले समाधान गर्न नसक्ने बताए।