न्यायिक समितिका पदाधिकारीलाई तालीम

कात्तिक ३०, काठमाडौं – बैतडीका सातवटा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीका लागि सञ्चालन गरिएको तीनदिने तालीम सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिको आयोजना तथा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) को सहयोगमा सञ्चालन भएको तालीममा न्यायिक समितिका संयोजक, पदाधिकारी र कर्मचारीको सहभागिता थियो ।

तालीमले न्यायिक समितिले सम्पादन गर्नुपर्ने काम र स्थानीय स्तरमा न्याय निरुपणमा सहयोग पुग्ने मेलौली नगरपालिकाका न्यायिक समितिका संयोजक राधा ओझाले बताइन् ।

स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गरी स्थानीय स्तरमा न्याय निरुपणमा सजिलो होस् भनेर तालीमको आयोजना गरिएको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए ।

तीनवटा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुका लागि दोस्रो चरणमा तालीम सञ्चालन गरिने जिल्ला समन्वय समितिले जनाएको छ ।