पूर्वी नाकाबाट नेपाल आउने बङ्गलादेशी पर्यटक घटे

कात्तिक २८, काठमाडौं – अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने बङ्गलादेशी पर्यटक घटेको जनाएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार १० वर्षअघि काँकडभिट्टा नाकाबाट वर्षेनी एघार हजारभन्दा बढी बङ्गलादेशी पर्यटक नेपाल आएको देखिन्छ भने अहिले त्यो सङ्ख्या ह्वात्तै घटेर दुई हजारभन्दा कम भएको छ ।

काँकडभिट्टास्थित अध्यागमन कार्यालयका अनुसार सन् २०१९ को चालू नौ महिनामा यो नाका भएर एक हजार ७२७ जना बङ्गलादेशी पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या सन् २०१८ मा एक हजार ९५०, सन् २०१७ मा एक हजार ९६४ र सन् २०१६ मा दुई हजार थियो । तर, एक दशक अघिसम्म बङ्गलादेशी पर्यटकको आगमन दर उच्च थियो ।

सन् २००४ मा ११ हजार १२७, सन् २००५ मा ११ हजार २१२, सन् २००६ मा ११ हजार ३१२ र सन् २००७ मा १२ हजार ५५३ बङ्गलादेशी पर्यटक काँकडभिट्टा नाकाबाटै नेपाल प्रवेश गरेको अध्यागमन कार्यालयको तथ्याङ्कमा देखिन्छ ।

सन् २००८ मा भारतले मुम्बईमा भएको आतङ्कवादी हमलाको कारण जनाउँदै छिमेकी मुलुकको सीमाक्षेत्रमा आउजाउ र भिसा प्रक्रियामा कडाइ गरेको थियो ।
सोही वर्षदेखि नेपालमा आउने बङ्गलादेशी पर्यटक ह्वात्तै घटेको बताइएको छ । नेपाल पर्यटन बोर्ड काँकडभिट्टाकी निमित्त प्रमुख सुस्मिता दाहालले भारतले भिसामा कडाइ गरेका कारण नेपाल आउने बङ्गलादेशी पर्यटकको कमी आएको बताए ।

पछिल्लो समय आउने गरेका थोरै बङ्गलादेशी नागरिकहरु पनि आँखाको उपचारका लागि मात्र आउने गरेको र उनीहरु उपचार सकेर भरसक एकै दिनमा फर्किने गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख जनक कोइरालाले बताए ।

रासस