कात्तिक २८, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच बुधबार अपराह्न भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटवार्तामा नेपाल–बङ्गलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा विद्यमान पारस्परिक सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो ।
विगतदेखि नै नेपाल र बङ्गलादशेबीच मैत्री सम्बन्ध रहि आएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनता, नेपाल सरकार र आफ्नो तर्फबाट नेपाल भ्रमण गर्नु भएकोमा उनले धन्यबाद दिएकी छन् ।
नेपाल भ्रमण गर्ने निम्ता दिनुभएकामा राष्ट्रपति भण्डारीको प्रशंसा गर्दै उहाँका बङ्गलादेशी समकक्षीले उच्चस्तरीय भ्रमणले सम्बन्ध थप विस्तार हुने विश्वास ब्यक्त गरेकी छन् ।
राष्ट्रपति बिचको भेटमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, जलमार्ग, हवाइमार्ग, शिक्षा, यातायात तथा कृषि क्षेत्रमा सहयोग गर्ने सम्बन्धमा छलफल भएको थियो । जलवायु परिवर्तनसहित अन्तरराष्ट्रिय र क्षेत्रीय चासोका मामिलामा सहयोग सुदृढ तुल्याउने बारेमा पनि विचार आदानप्रदान भएको थियो ।