कात्तिक २७, काठमाडौं – नेपाल भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज शिष्टाचार भेट गरेका छन् ।
भेटमा दुई देशबीच आपसी हित, आर्थिक साझेदारी र विकासका विषयमा समेत छलफल भएको भेटवार्तामा सहभागी काङ्ग्रेस नेता डा नारायण खड्काले जानकारी दिएका छन् ।
भेटमा सभापति देउवाले व्यापार, ‘कनेक्टिभिटी’, जलविद्युत् आयोजना निर्माण र नेपालबाट विद्युत् खरीद गर्ने विषयलाई प्राथमिकतामा राखेर कुराकानी गरेका छन् ।
यसअघि मङ्गलबार उहाँसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भेटवार्ता गर्नुभएको थियो भने आज राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरीसकेका छन् ।
उनले बिहीबार कास्कीको पोखरा र शुक्रबार काठमाडौँको चन्द्रागिरिको भ्रमण गर्ने कार्यतालिका छ । मङ्गलबार आउनुभएका राष्ट्रपति हमिद भ्रमण सम्पन्न गरी यही कात्तिक २९ गते स्वदेश फर्किने छन् ।