कात्तिक २४, काठमाडौं – विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका शिक्षण संस्थाहरूले उपलब्ध गराउनुपर्ने छात्रवृत्तिका लागि सरकारले नै विद्यार्थी छनोट गर्ने भएको छ।
त्यस्ता शिक्षण संस्थाहरूले अनिवार्य रूपमा कुल भर्नाको १० प्रतिशत निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्ने बाध्यात्मक नियम छ। यस्तो नियम भए पनि अधिकांश शिक्षण संस्थाहरूले छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्दै आएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव रामशरण सापकोटाले कानुनले तोकेअनुसारको छात्रवृत्ति उपलब्ध गराउन त्यस्ता शिक्षण संस्थाहरू सहमत भएको जानकारी दिए ।
एडभान्स (ए) लेबलदेखि स्नातकोत्तर तहसम्म अध्यापन गर्न विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाबाट सम्बन्धन लिई नेपालमा ९५ वटा शिक्षण संस्थाले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन्। तीमध्ये धेरैजसो एलेभलका छन् र अधिकांश उपत्यकामा सञ्चालित छन्।