नेकपाको निर्वाचन परिचालन समिति गठन

कात्तिक १९, काठमाडौं – मङ्सिर १४ गते हुने उपनिर्वाचनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दुई हजार ६४१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

निर्वाचनको तयारी सम्बन्धमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले पार्टीको जिल्ला कमिटीको ५औँ पूर्ण बैठकले निर्वाचन परिचालन समितिसहितका विभिन्न उपसमिति गठन गरेको जानकारी दिएका छन् ।

बैठकले पार्टीका जिल्ला इञ्चार्ज राजकाजी गुरुङको संयोजकत्वमा निर्वाचन मूल कमाण्ड कमिटी गठन गरेकोे छ भने ११ वडामा वडास्तरीय निर्वाचन कमाण्ड कमिटी गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै श्रीनाथ बरालको संयोजकत्वमा जनवर्गीय मोर्चा सङ्गठन परिचालन कमिटी गठन गर्दै पार्टीले उक्त कमिटीअन्तर्गत आर्थिक व्यवस्थापन, प्रचारप्रसार, युवा परिचालनलगायत विभिन्न २६ वटा उपसमिति गठन गरिएको छ ।