कात्तिक १८, काठमाडौं – कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले उम्मेदवार चयन गरेका छन् ।
सत्तारुढ दल समाजवादीले पार्टीका प्रदेश कमिटीका सदस्य इञ्जिनीयर धर्मराज गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यसैगरी राप्रपाले पार्टीका केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले स्व रवीन्द्र अधिकारीका धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
नेपाली काङ्ग्रेसले भने अहिलेसम्म उम्मेदवार चयन गरिसकेको छैन । काङ्ग्रेसले जिल्लाबाट उम्मेदवारका आकाङ्क्षी रहेका १६ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएपछि उनको क्षेत्रमा उपचुनाव हुन लागेको हो ।