कात्तिक १८, काठमाडौं – मेलम्ची खानेपानी आयोजना अन्तर्गत पानी वितरणका लागि विभिन्न चोकमा ‘क्रसिङ’ निर्माण गरिने भएको छ ।
सडकको एउटा दिशामा रहेको पाइपलाई अर्कोतर्फ लैजानका लागि क्रसिङ गर्ने गरी सडक विभाग र आयोजनाबीच सम्झौता भएको थियो ।
काठमाडौँका चोकमा एउटा दिशाबाट अर्को दिशामा पाइप लैजानका लागि क्रसिङ गर्नुपर्नेमा अधिकांश स्थानमा सकिएको मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
आयोजनाको सुरुङमार्ग निर्माण ९५ प्रतिशत सकिँदा वितरणका लागि आवश्यक पूर्वाधार निर्माण अघि बढिरहेको निर्देशनालयले जनाएको छ । मुख्य पाइप विस्तार ७७ किलोमिटरमध्ये झण्डै साढे ७४ किलोमिटर सकिएको छ भने बाँकी काम छिट्टै अघि बढ्नेछ ।
मेलम्चीको सहायक परियोजना–१ अन्तर्गत सुरुङ निर्माण हुँदै प्रशोधन केन्द्रसम्मको निर्माण भइरहेकामा दोस्रो चरणमा प्रशोधन केन्द्रबाट पानी उपभोक्ताका घरघरसम्म पु¥याउने काम रहेको छ । सन् २०११ देखि आयोजनाले मुख्य, सहायक र वितरण पाइप बिच्छ्याउने काम गरिरहेको छ । पानी सङ्कलनका लागि विभिन्न १० स्थानमा ट्याङ्की निर्माण भइरहेको छ ।
मेलम्चीको पानी दुई चरणमा गरी काठमाडौँ उपत्यका ल्याउन लागिएकामा अहिले पहिलो चरणमा भित्रने १७ करोड लिटर पानी सङ्कलन तथा वितरण हुँदै फोहोर पानी प्रशोधनका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको बताइएको छ । सो चरणमा चक्रपथभित्रका एक लाख १० हजार घरधुरीमा पानी वितरण हुनेछ ।