उपनिर्वाचनको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाउन निर्देशन

कात्तिक १८,काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

आगामी मङ्सीर १४ गते हुने उपनिर्वाचन (प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यतथा स्थानीय तह) का सन्दर्भमा आइतबार आयोगमा सम्पन्न उच्चस्तरीय सुरक्षा समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलियाले सो निर्देशन दिएका हुन् ।

बैठकमा गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले समग्र सुरक्षा योजना प्रस्तुत गर्नुभएको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीले आ–आफ्ना निकायबाट तयार गरिएका उपनिर्वाचन सुरक्षा योजनासमेत पेश भएको थियो ।

बैठकमा निर्वाचन आयुक्त नरेन्द्र दाहाल, गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, रक्षा सचिव रेश्मीराज पाण्डे, आयोगका सचिव देवकुमारी गुरागाईं, नेपाली सेनाका रथी गौरब तण्डुल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी लगायतको उपस्थिति थियो ।
रासस