कात्तिक १५, काठमाडौं –हिमालयन बैंक लिमिटेडले आफ्नो सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडको कारोवार शुक्रवारबाट शुभारम्भ गरेको छ ।
बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले एक समारोहका बीच हिमालयन क्यापिटल लिमिटेडको समुद्घाटन गर्दै औपचारिक रुपमा सेवा प्रारम्भ गरेको घोषणा गरे ।
बैंकको पूर्ण स्वामित्व रहेको हिमालयन क्यापिटलको मुख्य उद्देश्य ग्राहकहरुका लागि मर्चेन्ट बैंकिंग तथा इन्भेस्टमेन्ट बैंकिंग सेवा प्रदान गर्नु रहेको छ । क्यापिटलको चुक्ता पूँजी २० करोड रहेको छ ।
नेपाल धितोपत्र बोर्डले हिमालयन क्यापिटललाई गत साउन २६ गते सम्पूर्ण मर्चेन्ट बैंकिङ कारोबार गर्न इजाजत प्रदान गरेको थियो ।
क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले कम्पनीले ग्राहकहरुको सन्तुष्टिलाई आत्मसाथ गर्दै सम्पूर्ण धितोपत्र बजारलाई सकारात्मक योगदान दिन कटिबद्ध रहने उल्लेख गरे ।