धनतेरसमा के किन्ने ? के नकिन्ने ?

कात्तिक ९, काठमाडौं – हिन्दू पञ्चांग अनुसार कात्तिक महिनाको कृष्ण त्रयोदशीका दिन धनतेरस मनाउने चलन छ ।

धनतेरसका दिनदेखि नै वास्तविक तिहार सुरु हुने मान्यता पनि छ । यो दिन देवताका वैद्य धन्वन्तरी अमृत कलशसहित समुद्र मन्थनबाट प्रकट भएका थिए । यही मान्यताका आधारमा यस दिन धनतेरसका साथै धन्वन्तरी जयन्ती पनि मनाइन्छ ।

धनतेरसका दिन पित्तलका सामान खरिद गर्नु शुभ मानिन्छ । कस्ता सामान किन्ने ? धनतेरसका दिन सामान किन्दा विशेष ख्याल गर्नुपर्छ । यो दिन आफ्नो आवश्यकतालाई ध्यान दिएर मात्र सामान घर भित्र्याउनुपर्छ ।

धनतेरसमा यी सामान किन्दा शुभ मानिन्छ ।

पित्तल

धनतेरसका लागि पित्तलका सामान उत्तम मानिन्छ । धन्वन्तरीलाई पित्तल प्रिय लाग्ने भएकाले पित्तलका सामान किन्नु शुभ मानिएको हो ।

चाँदी

भगवान् कुवेरका लागि चाँदी राम्रो मानिन्छ । धनतेरसका दिन चाँदीका सिक्का तथा चाँदीका भाँडाहरू खरिद गर्न सकिन्छ ।

झाडु

तिहारको झझल्को दिने धनतेरसका दिन लक्ष्मी भित्र्याइने हुनाले यो दिन झाडु किन्नु उपयुक्त मानिन्छ ।

माटोको दियो

तिहारमा गरिने गणेश–लक्ष्मीको विशेष पूजामा माटोको दियोमा बत्ती बाल्नु शुभ हुन्छ । त्यसकारण धनतेरसकै दिन माटोको दियो घर भित्र्याउने चलन छ । यसका साथै फ्रिज, फर्निचर, वासिङ मेसिन आदि पनि किन्न सकिन्छ ।

के नकिन्ने ?

काँचका सामान

धनतेरसका दिन काँचका सामान खरिद गर्नु शुभ हुँदैन भन्ने मान्यता छ । सिसाका सामानको सम्बन्ध राहुसँग हुने भएकाले यसलाई अशुभ मानिएको हो ।

धारवाला सामान

यो दिन धार भएका कैंची, चक्कु आदि सामान पनि किन्नु हुँदैन । यस्ता सामान घरमा ल्याए अशुभ हुन्छ भनिन्छ । फलामका सामान शनिको कारक मानिने हुनाले पनि यस्ता सामानले खतरा बढाउने मान्यता छ ।

चिनी

यो दिन चिनी तथा चिनीबाट बनेका कुरा घर ल्याउनु अशुभ मानिन्छ । चिनीबाट बनेका खाद्य वस्तु लामो समयसम्म सुरक्षित एवं स्थायी हुँदैनन् ।

स्टिलका सामान

धनतेरसका दिन स्टिलका सामान किन्नु पनि राम्रो मानिँदैन । स्टिल राहुको कारक हुने भएकाले त्यसो भनिएको बताइन्छ ।