हुण्डी कारोबार गर्ने ६ जना पक्राउ, २९ लाख रुपैयाँ बरामद

कात्तिक ८, काठमाडौं – प्रहरीले हुण्डीको कारोबार गर्ने ६ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १६ रजत जयनुत्रीबाट पाँच लाख ८३ हजार ५६० रुपैयाँसहित बिहार मोतिहारी १६ घर भएका कृष्णमोहन हलवार पक्राउ रहेका छन् ।

यस्तै, कात्तिक ७ गते वीरगन्ज १६ बाटै १० लाख रुपैयाँसहित तीन जना हुण्डी कारोबारी समातिएका छन्। प्रहरीले बारा खटुवा प्रसौनी गाउँपालिका २ का वीरेन्द्र साह, बारागढी गाउँपालिका २ का शनि जैसवाल र भारत रामगढवा थाना ग्राम बस्ने सकिर मियाँलाई पक्राउ गरेको हो।

साह र जैसवालको साथबाट जनही दुई लाख पचास हजार र मियाँको साथबाट पाँच लाख रुपैयाँ बरामद भएको छ । यस्तै, प्रहरीले शुक्रबार बिहान वीरगन्ज १६ शंकराचार्य गेटबाट भारत बिहार पूर्वी चम्पारण थाना सुगौली बस्ने गोपालप्रसाद अग्रवाललाई ९ लाख रुपैयाँसहित पक्राउ गरेको छ। वीरगन्ज १६ बस्ने मुन्टुकुमार साहको साथबाट चार लाख पचास हजार रुपैयाँ बरामद गरेको छ।

उनीहरूमाथि अवैध वित्तीय करोबार कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।