हराउदै तिहारको मौलिकता

कात्तिक ८, काठमाडौं – नेपाली हिन्दु धर्मालम्बीहरुको दशैं पछिको अर्को ठुलो चाड हो तिहार । पाँच दिनसम्म चल्ने तिहार पर्वलाई एक उमङ्गको पर्वको रुपमा लिइन्छ ।

चारैतिर झिलिमिली , ढकमक्क सयपत्री फूल, देउसी भैलोको माहोलले फरक किसिमको माहोल निर्माण हुने गरेको छ । तिहारलाई सप्तरंगी तिहार पनि भनिन्छ । तिहारमा देउसी भैलो खेल्ने, पशुपंक्षीको पूजा गर्ने, दाजुभाइलाई पुजा गर्ने चलन रहेको छ ।

अहिले भने तिहार भड्किलो बन्दै गएको जानकार हरुले बताउदै आएका छन् । तिहारलाई बिदेशी सामानहरुले धपक्कै छोपेको देखिन्छ । अहिले घरमा पाक्ने सेलरोटीको ठाँउमा मिठाइहरुले स्थान लिइसकेका छन् ।

पाक्दैन घरमा सेलरोटी
सेलरोटी तिहारको अनिवार्य परिकार हो । तिहारमा सबैको घरमा पाक्ने गरेको सेलरोटी अहिले पाक्न छोडिसकेको छ । ब्यस्त दैनिकीका कारण पनि घरमा रोटी पकाउने फुर्सत नै हुदैन । बजारमा पाइने मिठाइका कारण पनि सेलरोटी बिस्थापीत हुदै गएको छ । घरमै पकाउने परम्परा पनि हराउदै गएको पाइन्छ । पसल तथा भाटभटेनीबाट सेलरोटी मगाई तिहार मनाउने चलन बढ्दै गएको छ ।

हराउदै माटोका दियो
तिहार एक भिलिमिलीको पर्व मानिन्छ । यस पर्वमा घरदेखि हरेक क्षेत्रमा उज्यालो बनाउने परम्परा रहेको छ । पहिलाको समयमा माटोका दियोहरु बाल्ने गरिन्थ्यो । तर अहिले भने बिद्युतीय बत्ती बढि प्रयोग हुन थालेको छ । विद्युतीय बत्तीको खरिदले घरको व्ययभार त बढाउँछ नै बत्तीको बिल पनि बढाउँछ ।

सयपत्रीको सट्टामा प्लास्टिकको फूल
चारैतिर सयपत्री फूल देख्ने बित्तिकै तिहार आएको आवास हुन्छ । सयपत्रीको माला उनेर घरका झ्याल–ढोका तथा पूजास्थल सजाउने परम्परा रहेको छ । तर अहिले बजारमा निस्केका प्लास्टिकका फूलले घर सजाउन थालिएको छ ।