कात्तिक ५, काठमाडौं – सडक निर्माणका विषयमा बैतडीमा विवाद हुँदा सडक खनिरहेको डोजरबाट आक्रमण हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा विवाद भएपछि डोजर चालकले डोजरमार्फत आक्रमण गर्दा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएका हुन् ।
प्रहरीका अनुसार घटनामा अन्य ८ जना घाइते भएका छन् । स्थानीयवासी सुरेन्द्रप्रसाद जोशी, नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी घाइते भएका छन् ।
सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माणका विषयमा दुई पक्षबीच कुराकानी नमिल्दा झडप भएको थियो । सडक लैजान नदिने र सडक लैजानुपर्छ भन्ने पक्षबीच विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ ।
डोजर चालकसहित चार पक्राउ
सडक निर्माणका विषयमा गाउँलेबीच विवाद हुँदा डोजरले एक स्थानीय महिलालाई हुत्याउने डोजर चालक पक्राउ परेका छन् । डोजर चालकले महिलालाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बोहरालाई नियन्त्रणामा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । बोहरामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस