कात्तिक ५, काठमाडौं – १३ जना भन्दा बढी हत्या गरेको आरोप प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताब आलमले सो घटना नघटेको बताएका छन् ।
प्रहरीसँगको बयानमा आलमले कसुर अस्वीकार गरेका छन् । सरकारी वकील समक्षको बयान समेत सकिएको छ । बयानका क्रममा उनले १२ वर्ष अगाडि घटेको सो घटना घट्दै नघटेको दाबी गर्दै आएका छन् ।
२०६८ चैत्र २८ गतेको निर्वाचनको पूर्व सन्ध्यामा बम बनाउँदै गर्दा पड्केर घाइते भएकाहरुलाई इँटाचट्टामा ज्युँदै पोलेर मारेको आरोपमा प्रहरी हिरासतमा रहेका आलमले पोलिग्राफ परीक्षण गर्न समेत अस्वीकार गरेका हुन् ।
पोलिग्राफ टेस्ट गर्न आलमको सहमति खोजेपनि अस्वीकार गरेको प्रहरीले जनाएको छ । घटनाबारे साँचो झूटो के बोल्यो भन्ने पत्ता लगाउन पोलिग्राफ परीक्षण गरिंदै आएको छ । त्यसको लागि आरोपितको सहमति लिनुपर्ने हुन्छ । तर उनले अस्वीकार गरेका हुन् ।