असोज २८, काठमाडौं – आगामी १४ मंसिरमा हुने उपनिर्वाचनमा कुल मतदाता ४ लाख ५४ हजार १ सय १४ रहेका छन् । निर्वाचन आयोगले उपनिर्वाचनका लागि सो संंख्या मतदाताका लागि स्वीकृत गरेको हो।
उपनिर्वाचन हुने ३७ जिल्लाका क्षेत्रबाट मतदाताको सो संख्या रहेको आयोगले जनाएको छ। यसमध्ये महिला मतदाता २ लाख ३३ हजार ४ सय २ जना रहेका छन् । पुरुष मतदाता २ लाख २० हजार ७ सय १० जना र अन्य लिंगका २ जना रहेका छन् ।
अन्तिम मतदाता नामावली तयार गर्ने सिलसिलामा उपनिर्वाचन हुने ३७ जिल्लाका स्थानीय तहका १ सय ५५ वडामा मतदाता नामावली ऐन, २०७३ बमोजिम मतदाता नामावली अद्यावधिक र दाबी विरोध कार्यक्रम सञ्चालन गरिएको थियो ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने कास्की निर्वाचन क्षेत्र नं २ मा ७१ हजार ८ सय ७१ जना, प्रदेश सभा सदस्यको निर्वाचन हुने भक्तपुर, बाग्लुङ र दाङका सम्बन्धित निर्वाचन क्षेत्रमा क्रमशः ४५ हजार १५, ३६ हजार ९ सय २६ र ७३ हजार १ सय ७२ जना मतदाता रहेका छन् ।
उपनिर्वाचन हुने ३७ जिल्लाका सम्बन्धित निर्वाचन क्षेत्रमा कुल २ सय ४७ स्थलमा ५ सय ३७ मतदान केन्द्र रहेका छन् । ८ सय वा सो भन्दा बढी मतदाता रहेका मतदान केन्द्र ३ सय ३७ रहेका छन् भने ८ सयभन्दा कम मतदाता रहेका केन्द्र २ सय रहेका छन् ।
यो समाचर आजको समाचारपत्रमा छापिएको छ ।