भाषा परिक्षामा सहभागी हुन अब चिट्ठा जित्नुपर्ने

असोज १३, काठमाडौं – स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लु) अन्तर्गत नर्सिङ केयर गिभरमा जापान जाने नेपाली कामदारले भाषा परीक्षामा सहभागी हुन चिट्ठा जित्नुपर्ने भएको छ ।

नेपालीहरूले धेरै संख्यामा भाषा परीक्षामा सहभागी हुने चासो देखाएपछि जापान सरकारले हजार जनालाई मात्रै भाषा परीक्षामा सहभागी गराउने बताएको थियो ।

यसअघि ‘फर्स्ट कम फर्स्ट प्रायोरिटी’का आधारमा पहिले फर्म भर्ने हजार जनालाई मात्रै परीक्षामा सहभागि गर्ने बताएको थियो । तर, जापान फाउन्डेसनले त्यो नियम परिवर्तन गर्दै फर्म भर्नेहरूमध्ये गोला प्रथाबाट छानिएका हजार जनालाई मात्रै भाषा परीक्षामा सहभागी गराउने भएको हो।

जापान सरकारले एसएसडब्लु अन्तर्गतको सबै जिम्मेवारी जापान फाउन्डेसनलाई दिएको छ। भाषा परीक्षणमा सहभागी हुनेको नामावली गोलाप्रथाबाट छनोट गर्ने जापान फाउन्डेसनले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

फाउन्डेसनले यसअघि नै अक्टोबर २७ देखि २९ सम्म पहिलो चरणमा भाषा परीक्षा लिने जनाएको छ। त्यसपछि दोस्रो चरणमा नोभेम्बर ५ देखि ७ र तेस्रो चरणमा नोभेम्बर १२ देखि १४ सम्म भाषा परीक्षण हुनेछ।