असोज १०, काठमाडौं – कृषि विकास बैंकको सिस्टम ह्याक प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महेन्द्र भट्ट, मालतीदेवी न्यौपाने भट्टराई र गणेश बस्याल रहेको छन् । यो सँगै बैंक ह्याक प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।
अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार भट्टको महेन्द्रनगरस्थित कृषि विकास बैंकको शाखाको खातामा ४५ लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको छ। ।
यस्तै पर्वतकी मालतीदेवी न्यौपानेको खातामा २४ लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको छ । हिजो बिहीबार पनि प्रहरीले स्याङ्जाका रामकृष्ण भुसाललाई पक्राउ गरेको थियो ।
घटनामा संलग्न भनिएका मुख्य अभियुक्त अफ्रिकन मुलका काले भनिने पिटर भने फरार छन्। उनकै योजनामा बैंक ह्याक गरेर व्यक्तिको खातामा रकम ट्रान्सफर गरिएको प्रहरीले जनाएको छ।