प्रधानमन्त्री हुने कल्पनै थिएन – प्रधानमन्त्री

असोज १०, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफुमा प्रधानमन्त्री हुने कुनै कल्पना नै नरहेको बताएका छन् ।

नेपालय प्रकाशनद्वारा प्रकाशित वामपन्थी राजनीतिक इतिहास र नेताहरुको जीवनी चरित्रमा आधारित प्रा केआर खुम्बुको पुस्तक ‘छायाँको लस्कर’ को लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनमा लाग्दा बाँचिएला भन्नेसमेत नलाग्ने गरेको उल्लेख गरे ।

उनले गणतन्त्रको प्राप्तिसहित नयाँ संविधान, कम्युनिष्ट पार्टी एकता र अरु परिवर्तनहरु आफ्नै जीवनकालमा देख्न पाइएको जनाउँदै पञ्चायतकालमा सङ्गठिन र सचेत प्रयासका साथ थालनी गरेर शुरु भएको आन्दोलनले आफ्नै जीवनकालमा परिवर्तन दिएको र पार्टी एकताले पूर्णता पाएकामा सन्तोष व्यक्त गरे ।

उनले भूमिगतकालमा आफूले गरेका राजनीतिक गतिविधिको स्मरण गर्दै त्यसबेलाका कतिपय क्रान्तिकारी गीत, कवितासमेतलाई पुस्तकमा समेटेकामा धन्यवाद दिए।

झापा विद्रोहकालदेखि राजनीतिमा लाग्नुभएको प्रा खुम्बु हाल प्राज्ञिक क्षेत्रमा क्रियाशील छन् । पुस्तकले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र उनका सहकर्मीहरु युवा उमेरमा रहँदा भूमिगतकालमा कसरी राजनीतिमा सक्रिय भएका थिए भन्नेबारेमा समेत चर्चा गरिएको छ
रासस