कृषि विकास बैंक ह्याक गरि १ करोड ५० लाख बढी रकम झिक्ने ११ जना पक्राउ

असोज ८,काठमाडौं—कृषि विकास बैंकमा अन्तराष्ट्रिय गिरोहले अवैध रुपमा पाँच करोड रुपैयाँ निकालेको खुलासा भएको छ । तर सिस्टम ह्याक गरी २ करोड रुपियाँ बराबरको रकम मात्रै चोरिएको कृषि विकास बैंकको दाबि छ ।

विभिन्न रेमिट तथा बैंकका शाखाहरूबाट अनधिकृत रकम निकाल्ने ११ जना गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानबाट गिरोहका नाइके विदेशमा भएको खुलेको छ ।

पक्राउ पर्नेमा नुवाकोट मेघाङ गाउँपालिका ४ का लवङ तामाङ, लमजुङ दोदी गाउँपालिकाका विद्यासागर लामिछाने, सर्लाहीका पुष्पराज खड्का, काठमाडौं तारकेश्वर काभ्रेस्थलीका सन्जय घले, तारकेश्वरकै लक्ष्मी लामा तामाङ, निर्मला तामाङ र निमा तामाङ रहेका छन् । प्रहरीले गत शनिबार चार जनालाई पक्राउ गरेको थियो । मंगलबार पक्राउ परेका अन्य चार जनाको परिचय भने प्रहरीले अझैं खुलाएको छैन ।

प्रहरीले उनीहरूसँग विभिन्न बैंकको चेक, मोटरसाइकलका ब्लुबुक, राहदानी, एटिएमहरु पनि बरामद गरेको छ ।

विभिन्न शाखाबाट कृषि विकास बैंकको सिष्टम ह्याक गरेर व्यक्तिको नाममा पठाइएको प्रहरीले जनाएको छ । तर, बैंकले भने अहिलेसम्म पनि रकम एकीन गर्न सकेको छैन । प्रहरीको अनुसन्धानमा करिब ५ करोड रुपैयाँ यसरी विभिन्न व्यक्तिको खातामा ट्रान्सफर गरिएको देखिएको छ । त्योमध्ये प्रहरीले करिब ६० लाख रुपैयाँ अहिलेसम्म बरामद गरेको छ ।

बैंकका अनुसार कृषि विकास बैंक लहान शाखाका प्रबन्धकको पासवर्ड प्रयोग गरेर दुई करोड झिकिएको छ । प्रबन्धकको पासवर्ड प्रयोग गरेर उक्त शाखाका कर्मचारीले अवैध रुपमा पैसा झिकेको प्रारम्भिक अध्ययनले देखाएको कृषि विकास बैंकका कार्यवाहक महाप्रबन्धक प्रताप सुवेदीले बताए । बैंकका कर्मचारी पनि पक्राउ परेको उनले पुष्टि गरे ।
अझै केही व्यक्ति फरार रहेकाले प्रहरीले यसबारेमा केही बताएको छैन ।

यता नेपाल राष्ट्र बैंकले पनि कृषि विकास बैंकको सिस्टम ह्याक गरी रकम चोरिएको बारे अनुसन्धान भैरहेको बताएको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले अहिले अनुसन्धानमै रहेको भन्दै सबैलाई संयमित हुन आग्रह गरे ।