असोज ६, काठमाडौं—गृहमन्त्री रामबहादुर थापाले चाडबाडका समयमा देशैभरको शान्ति सुरक्षा सृदृढ गराइने विश्वास दिएका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सोमबार सांसदहरुका प्रश्नको जवाफ दिँदै मन्त्री थापाले दशैं, तिहार र छठका बेला शान्ति सुरक्षा बलियो पारिने भन्दै ढुक्क हुन आग्रह गरेका हुन् । सर्वसाधारणको यात्रा सुरक्षित बनाउन र शान्ति सुव्यवस्था कायम गर्न गृह मन्त्रालय चुस्त रहेको पनि उनले बताए ।
सरकारले राजमार्ग र सहायक राजमार्गमा यात्रु सहायता कक्ष स्थापना गर्ने, टिकटमा कालोबजारी र कृत्रिम अभाव रोक्ने बाचा पनि मन्त्री थापाले बैठकमा गरे ।
सर्वसाधारणको भीड हुने धार्मिक स्थलमा विशेष सुरक्षा व्यवस्था मिलाइने भन्दै उनले भारतबाट दशैं मान्न घर फर्किने नेपालीलाई सहयोग गर्न सीमा क्षेत्रमा सहायता कक्ष सञ्चालन गरिने पनि जानकारी दिए ।
बैठकमा उपस्थित गृहसचिव प्रेमकुमार राईले पाँच सय र एक हजार रुपैयाँको भारतीय नोट नेपालमा नचल्ने भएकाले त्यस्ता नोटबारे के गर्ने भन्नेमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले अझै प्रष्ट नपार्दा समस्या भएको बताए ।