असोज ६, काठमाडौं—प्रेस काउन्सिल नेपालको स्वर्ण जयन्तीका अवसर पारेर पत्रकार आचारसंहिता–२०७३ संशोधित तथा परिमार्जित गरेको छ ।
राजधानीमा सोमबार आयोजित कार्यक्रममा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले संयुक्त रूपमा संशोधित तथा परिमार्जित पत्रकार आचारसंहिता, २०७३ (परिमार्जित–२०७६) सार्वजनिक गरेका हुन् ।
प्रविधिमा आएकोे विकासका कारण आचारसंहिता परिमार्जन गर्नुपरेको कार्यवाहक अध्यक्ष श्रेष्ठले बताए ।
सबै मिडियालाई समेटिएको यो आचारसंहितामा महासङ्घको पनि स्वामित्व रहेको महासङ्घका महासचिव रमेश विष्टको भनाई छ ।
आचारसंहितालाई समसामयिक बनाई समग्र मिडिया क्षेत्रलाई मर्यादित, जवाफदेही र जिम्मेवार बनाउने उद्देश्यअनुरुप सरोकारवाला सङ्घ–सङ्गठनका प्रतिनिधि पत्रकारहरुसँग धेरै चरणको छलफल, अन्तरक्रिया र प्राप्त रायसुझावमाथि गहन छलफलपश्चात् आचारसंहिता जारी गरिएको काउन्सिलका सूचना अधिकारी दीपक खनालले जानकारी दिए ।