असोज ६—भारतको राजधानी नयाँ दिल्लीमा एक पुरुषले आफ्नी पत्नीको विभत्स ढंगले हत्या गरेका छन् । हत्यापछि ती पुरुष आफैं प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेको बताइएको छ ।
समाचार एजेन्सीहरुका अनुसार प्रेम नगर क्षेत्रमा घटना भएको हो । ३३ वर्षीय आशुले पत्नी सीमाको हत्या गरेका हुन् । पत्नीको चरित्रमा शंका गर्दै आएका आशुले विवादकै क्रममा पत्नीको हत्या गरेको बताइएको छ ।
आशु र सीमाबीच दैनिकजसो विवाद हुन थालेपछि आशुकी आमाले उनीहरुलाई केही अघि घरबाट निकालिदिएकी थिइन् । डेरामा बस्दै आएका उनीहरुका तीन सन्तानसमेत छन् ।
शनिबार साँझ पत्नीलाई फकाएर आशुले आमाको घर लगेका थिए । सोही घरमा उनले पत्नीको हत्या गरेका हुन् ।
हत्यापछि उनी आफैं प्रहरी कार्यालय पुगेर आफूले पत्नीको हत्या गरेको बताएका थिए । प्रहरीले उनको कुरालाई सुरुमा विश्वास गरेको थिएन । तर उनले नै घटनाको विवरण खुलाउँदै आफूले हत्या गरेको बताएपछि एक प्रहरीलाई घरमा हेर्नका लागि पठाइएको थियो ।
प्रहरी पुग्दा घरमा शव क्षत विक्षत अवस्थामा सेफ्टी ट्यांकीमा फालिएको अवस्थामा फेला परेको बताइएको छ । घरमा रहेका अन्य सदस्य भने फरार भएको प्रहरीको भनाइ छ ।
हत्यापछि सीमाको शवलाई आफूले टुक्रा टुक्रा पारेको बयान आशुले प्रहरीसमक्ष दिएका छन् । उनले हत्या लगत्तै आफूले सासुलाई फोन गरेर घटनाबारे जानकारी दिएको तर सासुले आफ्नो कुरा नपत्याएको पनि बताएका छन् ।
आशुको सासुलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार उसले आफ्नै पत्नीको त्यसरी हत्या गरेको होला भन्ने विश्वास लागेको थिएन । तर छोरीको मोबाइलमा फोन गर्दा नउठेपछि शंका लागेर घरमा गएको उल्लेख गर्दै उनले भनिन्, ‘हामी त्यहाँ पुग्दा आशुले प्रहरी समक्ष आत्मसमर्पण गरिसकेको रहेछ, प्रहरीसमेत घरमा आइसकेको थियो ।’
एजेन्सी