असोज ६,काठमाडौं—सप्तरीमा एकमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ ।
आइतबार राति सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ बह्मपुरस्थित घर फर्किने क्रममा २४ वर्षीय भगवती मण्डलमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो ।
भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनाले डाक्नेश्वरी नगरपालिका–८ विषहरिया टोलस्थित कोशी पम्प नहर नजिक रोकेर गोली प्रहार गरेको मण्डलले बताए । मण्डल राजविराजबाट स ११ प १३६६ नम्बरको मोटरसाइकलबाट बह्मपुरस्थित घर जाँदै थिए । मण्डलको बायाँ हातको पाखुरामा गोली लागेर घाइते भएका छन् ।
उनी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि गएका थिए । तर मण्डलको पाखुराबाट अत्यधिक रक्तश्राव भएकाले उनलाई तत्कालै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अस्पतालका अहेव सन्तोष मेहताले बताए । मण्डलको उपचार धरानस्थित प्रतिष्ठानमा भइरहेको छ । गोली प्रहार गरी फरार रहेका अभियुक्तको खोजीकार्य तीव्रताका साथ भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइले बताए ।