असोज ५, काठमाडौं — बैंक अफ काठमाण्डूका पूर्व सिइओसहित ११ जना पक्राउ परेका छन् । नक्कली जग्गाधनी प्रमाणपत्र पूर्जा राखेर बैंकबाट पाँच करोड रुपैयाँ कर्जा प्रवाह गरेको आरोप लागेका बैंक अफ काठमाण्डूका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठसहित ११ जना पक्राउ परेका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले श्रेष्ठसहित बैंकका कर्मचारी किरण बोहोरा, ऋचा श्रेष्ठ, सुष्मा शाह, पुष्पराज भण्डारी, विक्रम पन्त र ऋणी सुरेन्द्र श्रेष्ठलगायतलाई पक्राउ गरेको हो ।
ब्युरो प्रमुख निरजबहादुर शाहीका अनुसार उनीहरू राजधानीका विभिन्न स्थानबाट पक्राउ परेका हुन् । दुई महिनाअघि श्रेष्ठसहित कर्मचारीको मिलेमतोमा नक्कली जग्गा धनी प्रमाणपत्र राखेर सुरेन्द्र श्रेष्ठको नाममा पाँच करोड कर्जा निष्कासन गरेका थिए ।
उक्त घटनाको प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा पक्राउ गरी प्रहरीले बैंकिङ कसूरमा मुद्दा अभियोजन गर्ने तयारी गरेको शाहीको भनाइ छ । नक्कली कागजातका आधारमा कर्जा निष्कासन भएपछि बैंकले प्रहरीमा निवेदन दिएको थियो ।