असोज ४,काठमाडौं— वर्नेमाउथ ईङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।
गएराति भएको खेलमा पहिलो पटक साउथह्याम्टनलाई ३–१ गोल अन्तरले पराजित गर्दै वर्नेमाउथ शीर्ष तीनमा उक्लिएको हो । नाथन एकेले १० औ मिनेटमा गोल गर्दै वर्नेमाउथलाई सुरुवाती अग्रता दिलाएका थिए ।
डिएगो रिकोको कर्नरलाई सदुपयोग गर्दै उनले हेडमार्फत गोल गरेका थिए । त्यसैगरी ह्यारी विल्सनले ३५ औ मिनेटमा अग्रतालाई दोब्बर बनाए ।
जेम्स वार्ड प्राउसले ५३ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोली साउथह्याम्टनको गोल अन्तर घटाउन सफल भएका थिए । कालुम विल्सनले ईन्जुरी समयमा गोल गर्दै वर्नेमाउथको जित सुनिश्चित गरेका थिए ।
वर्नेमाउथ ६ खेलबाट १० अंक बनाएर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने साउथह्याम्टन ७ अंकसहित ११ औ स्थानमा छ ।