असोज ४,काठमाडौं—राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्षलाई हेपेको भन्दै सरकारप्रति आक्रोश पोखेका छन् ।
गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा देउवाले सरकारविरुद्ध कडा आक्रोश पोख्दा राष्ट्रपति भण्डारीले आफूले नबुझेको भन्दै व्यंग्यपूर्ण प्रतिक्रिया दिएकी थिइन् । ‘यो मञ्चमा वक्ताले बोलेको केही नबुझिने रहेछ, नेताहरूले जोसले बोल्नुभयो, ताली पनि बज्यो, के बोल्नुभयो भन्ने बुझिएन । कान राम्रो सुनिएन कि ?’ राष्ट्रपतिले देउवाको अभिव्यक्तिप्रति लक्षित गर्दै भनिन् ‘अब मिडियाबाट थाहा पाइएला ।’ त्यसअघि देउवाले प्रतिपक्षसँग छलफलै नगरी संविधानविपरीतका प्रावधान राखेर विधेयकहरू ल्याएको भन्दै आक्रोश पोखेका थिए ।
सरकारमातहत राख्ने गरी मानव अधिकार आयोगसम्बन्धी विधेयक ल्याइएकोमा देउवाले असन्तुष्टि जनाएका थिए । ‘हामीले रेलिङ भाँचेका छैनौं, संसद्मा कुर्सी तोडफोड गरेका छैनौं भनेर हामीलाई हेप्ने ?’ देउवाले भने, ‘बोल्न नपाउने गरी मिडिया काउन्सिल विधेयक ल्याएर सरकारले जनताको स्वतन्त्रता खोस्न खोजेको छ ।
संविधानको मर्म्विपरीत सरकारले ल्याएका विधेयक हामी स्वीकार गर्दैनौं ।’ कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार एकलौटी ढंगबाट अघि बढेको र संविधान कार्यान्वयनमा गम्भीर नबनेको बताए ।
यो खबर कान्तिपुरमा छ ।