बालुवाटारमा नयाँ प्रधानमन्त्री निवास बन्ने

असोज २, काठमाडौं —प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार हाताभित्र निर्माण हुन लागेको प्रधानमन्त्री निवासको शिलान्यास गरेका छन् ।

सिंहदरबारस्थित पुतली बगैचामा संघीय संसद भवनको बुधबारमात्रै शिलान्यास गरेका प्रधानमन्त्री ओलीले बिहीबार प्रधानमन्त्री निवासको शिलान्यास गरेका हुन् ।

आगामी आवश्यकतालाई ध्यानमा राखेर, आधुनिक, प्रविधि सम्पन्न प्रधानमन्त्री निवास निर्माण गरेको प्रधानमन्त्री ओलीले बताए ।संसद भवनका लागि किन धेरै खर्च गरेको भन्दै आलोचना भएकोमा प्रधानमन्त्री ओलीले गुनासो गरे । उनले भने, ‘नबनाउँदा किन नबनाएको भनेर आलोचना गर्नु र बनाउन लाग्दा किन चाहियो भनेर आलोचना गर्नु मानिसहरुको नकारात्मक मानसिकताको उपज हो ।’

प्रधानमन्त्री ओलीले नयाँ निवास आफ्नो लागि नभएको बताए । उनले भने, ‘म अहिले ४१ औं प्रधानमनत्री छु । यो भवनमा १ सय ४१ औं, २ सय ४१ औं प्रधानमन्त्री पनि बस्न पाउनुहुन्छ । यो भवन रंगरोगन गर्दागर्दै मेरो कार्यकाल सकिन्छ र मपछिका प्रधानमन्त्रीहरु बस्न पाउनुहुन्छ ।’

अबका प्रधानमन्त्री छिटोछिटो परिवर्तन नहुने स्मरण गराउँदै उनले त्यसका बाबजुद धेरै प्रधानमन्त्रीले यस भवनमा आफ्नो कार्यकाल गुजार्ने दावी गरे । प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल भने त्यो भवन निर्माण कार्य हुँदै गर्दा बित्ने भएकाले नयाँ प्रधानमन्त्रीले भने त्यस भवनमा शान्तसँग बस्न पाउने बताए ।

पहिलो चरणमा निवासको शिलान्यास गरे पनि सोही हातामा पुनः अर्को सचिवालय भवन पनि निर्माण हुनेछ ।