‘विज्ञान र प्रविधिको क्षेत्रमा केही गर्ने अठोट गरेका छौं’ः प्रधानमन्त्री ओली

असोज १, काठमाडौं —प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको दुःख निवारणका तीन उपाय बताएका छन् । बुधबार काठमाडौंमा आयोजित सातौं राष्ट्रिय विज्ञान दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वीर पुर्खाको वंशाणुगत गुण, प्राकृतिक सुन्दरता र विशाल युवा जनशक्तिलाई नेपालीहरुको दुःख निवारणको उपायको रुपमा व्याख्या गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘हामी वीर पुर्खा र विद्वान पुर्खाका सन्तान हौं । त्यो जीन हामीसँग छ । हाम्रो जीनमा नै खोज अनुसन्धान छ । अहिले भएका पाका वैज्ञानिकहरुले सीमित खोज अनुसन्धान गर्नुर्पयो होला । नयाँ पुस्तालाई अवसर छ ।’
‘प्राकृतिक हिसाबले हामीसँग प्रशस्त सम्भावना छ । युवाको ठूलो जनसंख्या छ । अब हामी विकास गर्न सक्छौं । परम्परागत ढंगले विकास सम्भव छैन । त्यसकारण समाजलाई विज्ञान सम्मत ढंगले लैजानुपर्छ ।’

प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिलाई आत्मसात गरी पुराना पाराले नभई आजको आधुनिक समाजअनुकूल उत्पादनसँग प्रविधिलाई जोडेर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउँदै भने, ‘केही स्वार्थी तत्वहरु अहिले पनि विकास, सुशासन भन्दा उत्ताउला र प्रतिगामी, जन्मसिद्ध श्रेष्ठताको अवैज्ञानिक झिना मसिना कुरा गरेर हिँडिरहेका छन् । अब देश यस्ता कुराहरुमा अल्झँदैन ।’

उनले युवा वैज्ञानिकहरुलाई उत्साहित भएर काममा लाग्न आग्रह गर्दै सरकारले साथ दिने पनि बताए । ‘राजनीतिक वातावरण बनेको छ । अरु वातावरण बनाउनका लागि सरकार तयार छ, बनाउँछ,’ उनले प्रतिबद्धता जनाउँदै भने, ‘विज्ञान र प्रविधिको क्षेत्रमा केही गर्ने अठोट गरेका छौं ।’

उनले विज्ञानका क्षेत्रलाई बजेट थपेर काम गर्ने वातावरण दिनुपर्ने भएकाले सरकारले त्यो उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘यस क्षेत्रमा राजनीतिक पार्टीका आधारमा नभइ योग्यताका आधारमा नियुक्त गर्छाैँ । हाम्रो परम्परा अन्धविश्वासी होइन वैज्ञानिक र प्रयोगात्मक हो । यस परम्परालाई आधुनिक प्रविधिसँग जोडेर उन्नत समाज विकासमा लाग्नुपर्छ ।’

उनले नेपालमा विकास र समृद्धिको कुरा गर्दा विरोधका कुरा आउने गरेको गुनासो गरे । सरकारको विरोध गर्नेहरुलाई उखरमाउला भन्दै प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्र ल्याइसकेपछि नेपाली जनताले दुःख पाउँछन् भन्ने कुरा छैन, हामी लोकतान्त्रिकलाई सुदृढ गर्दै शान्तिपूर्ण ढंगले अगाडि जान्छौं । केही स्वार्थी तत्वहरु विकासभन्दा उखरमाउला कुरा गरेर जन्मदै कोही सार्थक हुन्छ भनेर हिँडिरहेका छन् ।’

कार्यक्रममा समृद्ध नेपालको लक्ष्यअनुकूल ‘राष्ट्रिय विज्ञान तथा नव–प्रवर्तन नीति, २०७६’ सार्वजनिक गरिएको थियो । ‘विज्ञान, प्रविधि र नवप्रवर्तन ः सामाजिक आर्थिक रुपान्तरण’को नारासहितसातांै राष्ट्रिय विज्ञान दिवस मनाइएको हो । समारोहमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विज्ञान र प्रविधिको क्षेत्रलाई वर्तमान सरकारले प्राथमिकता दिएकाले आफ्नो विवेक र क्षमताको उच्चतम् प्रयोग गरी राष्ट्र निर्माणमा लाग्न आग्रह गरे ।
नेपाल सरकारले विज्ञान र प्रविधिको उपयोग र जनचेतना फैलाउने लक्ष्यका साथ २०६९ साल मंसिर ८ बाट हरेक वर्ष असोज १ का दिन विज्ञान दिवस मनाउने निर्णय गरेको थियो ।