असोज १, काठमाडौं —स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु रोगबाट अहिलेसम्म ६ जनाको मृत्यु भएकोे जानकारी गराएका छन् ।
प्रतिनिधिसभा वैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै मन्त्री यादवले साउन १ देखि भदौ २३ सम्ममा ६ जनाको मृत्यु र ५ हजार ९५ जना संक्रमित भएको पनि बताए ।
यत्तिकै कारण मुलुकमा आपत्कालीन अवस्था घोषणा गर्नु नपर्ने मन्त्री यादवको तर्क छ । २०६१ मा चितवनमा पहिलोपटक देखिएको डेंगु हाल ५६ जिल्लामा फैलिएको छ । नेपाल डेंगु नियन्त्रण गर्न सक्षम रहेकाले आपत्काल घोषणा गर्नुनपर्ने उनको भनाइ थियो ।
मन्त्री यादवले नेपालले लामखुट्टेबाट सार्ने रोग औंलो र जापानिज इन्सेफ्लाईटिससमेत नियन्त्रणमा ल्याएको भन्दै डेंगुका लागि निर्दिष्ट औषधि बनि नसकेकाले समस्या भएको बताए । यसका लागि लामखुट्टे नियन्त्रण नै मुख्य उपचार भएकोले सबैलाई सचेत गराउन सरकार लागेको उनको भनाइ थियो ।
सरकार डेंगु नियन्त्रणमा भर्खर तयारीमा लागको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका थिए ।