साना उद्योगलाई प्रबिधिसंग नजोडेसम्म आर्थिक समृद्धि नहुने सरोकारवालाहरुको भनाई

 

भदौं ३१, काठमाडौं — देशमा सञ्चालित घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिसँग नजोडेसम्म आर्थिक समृद्धि नहुने सरकारवालाहरुले बताएका छन् ।

सातौं विज्ञान दिवसको पूर्वसन्ध्यामा नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको ‘विज्ञान, प्रविधि र उद्योगसँगसँगै’ विषयक एक दिने विचार गोष्ठीका सहभागीहरुले विज्ञान र प्रविधिको माध्यमबाट पुराना उद्योगहरुलाई सुदृढ र विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

स्थानीय उत्पादनमा आधारित नेपालमा सदियौंदेखि चलिरहेका परम्परागत लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिको माध्यमबाट उत्पादकत्व र क्षमता बढाउनुपर्ने उनीहरुले सुझाव दिएका थिए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले समृद्घ नेपाल र सुखी नेपालीको लक्ष्यलाई पुरा गर्नका लागि त्यसको मुख्य आधारको रुपमा रहेका लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिको माध्यमबाट सुदृढ र विकास गर्नुपर्ने बताए ।

त्यस्तै महासंघका अध्यक्ष श्याम गिरीले परम्परागत लघु, घरेलु तथा साना उद्योगधन्दाहरुको क्षमता विकास गर्नुपर्नेमा सरकारले पहल गर्नुपर्ने सुझाव दिएका थिए ।  सो अवसरमा विज्ञान÷प्रविधि तथा उद्योग क्षेत्रका विज्ञहरुबाट विज्ञान÷प्रविधि र उद्यमशीलताका विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।