लुक्लाबाट काठमाडौं उडेको ७ वटा हेलिकप्टर काभ्रे र सिन्धुलीमा आकस्मिक अवतरण गर्न बाध्य

भदौ ३१, काठमाडौं – सोलुखुम्बुको लुक्लाबाट काठमाडौं आएको हेलिकप्टर मौसम खराबीका कारण काभ्रेको पाँचखाल र सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण गर्न बाध्य भएका छन् ।

सोलुखुम्बुको लुक्लाबाट पर्यटक बोकेर काठमाडौं आएको कैलाश, मनाङ र सिम्रिक एयरका ७ वटा हेलिकप्टर काभ्रेको पाँचखाल र सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण गर्न बाध्य भएका हुन् ।

काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर ५ जोरपाटीमा ३ वटा र होक्से भन्ने ठाउँमा १ एक हेलिकप्टर बिहान ८ बजे आकस्मिक अवतरण भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए ।

त्यसैगरी सोलुखुम्बुबाटै काठमाडौ उडेका ८ मध्ये आकस्मिक अवतरण गरिएका ७ वटामा बाँकी ३ वटा सिन्धुलीको नेपाल थोकमा आकस्मिक अवतरण भएको हो ।

ती हेलिकप्टरहरु लुक्लाबाट जहाज उड्न नसकेका कारण अलपत्र परेका करिब ३ सय पर्यटकहरुको उद्दारका लागि लुक्ला पुगेर काठमाडौं आउदै गरेका हुन् ।