भदौं २८, काठमाडौं — प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।
सूर्य वृश्चिक राशिमा जानुअघिसम्म दिवङ्गत पितृ पितृलोकबाट मत्र्यलोकमा झरेर पिण्डदानको आशाले सन्तानको घर वरपर घुमेर बस्छन् भन्ने शास्त्रीय वचन छ । यस समयमा श्राद्ध नगरे पितृले सराप्दै फेरि पितृलोकमा फर्कन्छन् ।
यो समयमा श्राद्ध नगरे दोष (प्रत्यवाय) लाग्छ । आश्विन कृष्ण पक्षलाई महालय, अपर, पितृ र प्रेत पक्ष पनि भनिन्छ ।
चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परानुसार सोह्रश्राद्ध गर्ने गरिएको हो ।
सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।