डा.हरि लम्साल
सार्वजनिक प्रशासनमा रहेकामध्ये अधिकको मुखबाट सुनिने शब्द हो “अरुले काम गरेनन्” वा “अरुले गर्दा मुलुक बिग्रियो” । अहिले यस्तो भएको छ कि, हरेक व्यक्ति आफूले मात्र काम गरेको छु भन्ने ठान्दछ, बिग्रेको जति अरुले गर्दा नै हो । पुरा समय कार्यालय नबस्ने कर्मचारीलाइ सोध्ने हो भने उसले पनि “आफूले काम गरेको, तर अरुले गर्दा बिग्रियो” भन्दछ ।
यसैगरी विद्यालयको कक्षा कोठामा नपढाउने शिक्षकलाइ सोध्नु भयो भने पनि अरुले गर्दा नै बिग्रियो भनेको पाइन्छ, अरुले कामै गरेनन्, शिक्षा नीति कै कमजोरीका कारण यस्तो भयो भन्ने बुझाइदेखिन्छ । बाटोमा फोहर फाल्ने व्यक्ति अरुले गर्दा शहर सफा नभएको ठान्दछ । यसैगरी निजी विद्यालय चलाउने शिक्षक, कर्मचारी वा नेतामा सार्बजनिक विद्यालय बिग्रेको अरुले गर्दा नै हो भन्ने भ्रम छ । रिस्वत नलिइकन काम नगर्ने कर्मचारी अरुलाई घुस्याहा र भष्टचारी देख्छ । राजनीति गर्ने कर्मचारी आफु कार्य थलोमा नबसे पनि अरुले काम नगरेको ठान्ने मनोवृत्तिमाछ। निजी अस्पताल वा निजी क्लिनिकमा बसेर काम गर्ने सरकारी डाक्टर अरुले सरकारी अस्पताल बिगारेको भन्ठान्छन् । विश्वविद्यालयको कक्षामा नपढाउने प्रध्यापक अरुले उच्च शिक्षा ध्वस्त गरेको जिकीर गर्छन् ।
समाजमा अहिले हरेकमा आफ्नोभन्दा अरुको कमजोरी वा दोष देख्नेको संख्या बढि छ । आफूले काम नगर्ने अनि बिग्रियो भनेर अरुलाई मात्र दोष लगाउने प्रवृत्ति व्याप्त छ । अधिकारका बारेमा सबै सचेत छन् । कर्तव्यबोधका सम्बन्धमा आ आफ्नै अडान र मत छन् । शास्त्रीय ज्ञान बमोजिम पनि पहिला कर्तव्य आउँछ अनिमात्र अधिकारको कुरा उठने गर्दछ । तर हामी कहाँ अधिकारको मात्र सन्दर्भ उठने गर्दछ । व्यक्तिलाइ जबसम्म पहिला आफ्नो कर्तव्यबोध हुदैन्, तबसम्म दृष्टिदोष रहिरहन्छ । समाजका हरेक व्यक्तिले कर्तव्यबोध गर्ने हो भने समाज सुध्रिन धेरै समय लाग्दैन् । तसर्थ सार्वजनिक सेवामा रहने बस्नेले पहिला आफ्नो कर्तव्यबोध गर्न सक्नु पर्छ । यसका लागि आफुलाई जिम्मा दिइको काम गर्नु पर्छ, अनि मात्र अरुको कामका बारेमा चर्चा वा आलोचना गर्दा हुन्छ । बस्ने सार्बजनिक सेवामा अनि लाभ हानी व्यक्तिगत व्यवसायमा रहने प्रवृत्ति तत्काल अन्त्य गर्न सक्नुपर्छ । सरकारी सेवामा रहेर निजी विद्यालय चलाउनेले सार्वजनिक विद्यालय सुधारको नारा लगाउँदा त्यति सुहाउँदो हुदैन् । सबैजना पदको मर्यादामा बस्न सक्नुपर्छ, आचार संहिता पालन गर्न सक्नु पर्छ ।
यस समाजमा केहि व्यक्तिहरु राम्रा पनि छन । असल संस्कारका पनि छन् । सकारात्मक सोच भएका पनि छन् । तर यस्ता व्यक्तिहरुको संख्या कति छ त ?भन्ने प्रश्न मात्र महत्वपूर्ण हो । हाम्रो प्रयास सकारात्मक सोच भएका व्यक्तिहरुको संख्या कसरी बढाउन सकिन्छ भन्ने हो ।
हाम्रो मुलुक बनाउने हामी आफैले हो । यसका लागि हामी आफै तयार हुनुपर्छ । आफुलाइ दिएको काम पुरा गरेर अरुको कामका बारेमा प्रश्न सोध्ने संस्कार बसाल्नुपर्छ । यसो गर्न सकेमा समाजमा कर्तव्य पालना गर्नेहरुको संख्या बढ्दै जान्छ, सकारात्मक सोच भएकाहरुको संख्या बढ्दै जान्छ । अनि सुधारको शुरुवात यहिबाट हुन्छ । अन्यत्र विकसित मुलुकमा भएको पनि यहि हो । अरुलाइ मात्र दोष लगाएर वा गाली गरेर सुधार हुने होइन । काम गरेर मात्र सुधार हुने हो । हिजोभन्दा आज फरक कार्य शैलीमा काम गर्न सकेमा सुधार हुने हो । सकारात्मक दिशामा काम गर्न शुरु गरे सुधार हुने हो । फेरी सुधार बाहिरबाट आएर हुने पनि होइन । यो त व्यक्ति व्यक्तिको मनबाट शुरु हुने यात्रा हो । अर्थात सुधार आफैबाट शुरु गर्नुपर्छ । त्यहि भएर भन्ने गरिन्छ, संसार बदल्नका लागि पनि पहिला आफु बदलिनु जरुरी छ ।
हरेक व्यक्तिमा केहि न केहि सीप र क्षमता हुन्छ । एउटासँग नभएको सीप अर्कोसँग हुनसक्छ । सबैजना सबै कामका लागि उपयुक्त नहुन पनि सक्छन् । व्यक्तिमा के छैन होइन कि के छ भनेर खोजी गर्ने संस्कार बसाल्न आवश्यक छ । सीप फरक भए जस्तै हरेक व्यक्तिसँग पनि आफ्नै ढँगको संस्कार, बानी, व्यहोरा हुन्छन् यीमध्ये कतिलाई बदल्न सकिन्छ भने कतिलाइ व्यवस्थित गर्ने मात्र हो । तसर्थ सुधारका लागि व्यक्तिले आफूसँग भएको सबल पक्षलाई बढाउने र कमजोरी पक्षहरुलाई सुधार्ने नै हो । यसका लागि स्वयम व्यक्ति नै तयार हुनुपर्छ । आदत, बानी व्यहोरा आदिमा सुधार ल्याउने हो व्यक्तिले गर्ने काममा पनि सुधार आउँछ । यसका लागि व्यक्ति तयार बन्नुपर्छ, नियत सफा बनाउनुपर्छ । तसर्थ मुलुकको लागि काम जानेका नकारात्मक सोच भएका भन्दा काम नजानेका तर सकारात्मक सोच भएका व्यक्ति आवश्यक हुन्छन् । काम गर्न खोज्ने जनशक्तिले सिकेर पनि काम फत्ते गर्न सक्छ । त्यहि भएर व्यक्तिको प्रतिवद्धता सबैभन्दा महत्वपूर्ण हुन्छ । व्यक्ति प्रतिबद्ध बन्नु पर्छ भन्ने विषय सैद्धान्तिक जस्तो पनि दखिन्छ, तर पनि वास्तविकता यहि नै हो ।
अब प्रश्न उठछ, व्यक्तिलाई प्रतिवद्ध के कसरी बनाउने त ? कुन उपायले व्यक्ति काम प्रति जागरुक र संवेदनशील बन्दछ त ? यसका लागि विभिन्न सिद्धान्त प्रतिपादन भएका पनि छन् । यस्ता सिद्धान्तका अनुसार व्यक्तिलाई काम प्रति प्रतिबद्ध एवम् जागरुक तथा उत्प्रेरित बनाउन स्वअध्ययन, तालिम, दबाबमूलक वातावरण निर्माण, सहकार्य, प्रोत्साहन आदि उपयोगी हुन्छन् । यीमध्ये कुन चाँहि सबैभन्दा उपयोगी हुन्छ त ? यसका लागि पनि थप अध्ययन भएका छन् । व्यक्ति स्वयमले आत्मसाथ गरि विकास गर्ने प्रतिवद्धता सबैभन्दा बलियो र दिगो हुन्छ । यस्तो प्रतिवद्धता विकास गर्नका लागि स्वअध्ययन वा आत्ममनन नै उपयुक्त उपाय हो । यस क्रममा मेरो कर्तव्य के हो? मेरो नैतिक दायित्व के हो?म केकामका लागि यस पदमा छु? आदिजस्ता प्रश्नमा व्यक्तिलाई सोच्न र मनन गर्न लगाउन सकिन्छ । यस प्रश्नमा व्यक्तिको आत्माको उत्तर खोज्न सकिन्छ । व्यक्तिमा जबसम्म मेरो उपस्थिति मानव हित र भलाइका लागि हो, सार्बजनिक पदमा रहेको हुनाले यसमा मेरो दायित्व अझ बढि छ भन्ने चेत विकास हुदैन्, बाहिरबाट गरिने प्रयास त्यति सान्दर्भिक र वस्तुनिष्ठ नहुन पनि सक्छन् । यहि नै हो कर्तव्यबोधको मनन र पालना गर्ने उपाय । मैले जागीरमात्र खाने होइन, जनताको काम गर्ने हो । मैले जनताले तिरेको करबाट सेवा सुविधा लिएको छु, तसर्थ म अरुभन्दा बढि संवेदनसिल बन्नैपर्छ, भन्ने जस्ता आत्मानुभुती गर्ने, स्वमुल्यांकन गर्ने, मनन गर्ने आदिको अभ्यासले व्यक्तिको आदत र बानी व्यहोरामा परिवर्तन ल्याउन सहयोग गर्न सक्छ ।
माथी उल्लेख गरिएका विषय अलि आदर्शजस्तो पनि देखिन्छन् । सबैले कर्तव्यबोध गरेर, कर्तव्यको पालना गरेर अधिकारका बारेमा सोच्ने संस्कार त आर्दश समाजमा मात्र संभव हुन्छ तर हाम्रो समाजमा यस्तो सम्भव छैन ? भन्न पनि सकिएला । यसमा सबैले के मनन गर्नुपर्छ भने समाजमा रहेका सबै व्यक्तिहरु खराब नै छन भन्ने पनि होइन । यस समाजमा केहि व्यक्तिहरु राम्रा पनि छन । असल संस्कारका पनि छन् । सकारात्मक सोच भएका पनि छन् । तर यस्ता व्यक्तिहरुको संख्या कति छ त ?भन्ने प्रश्न मात्र महत्वपूर्ण हो । हाम्रो प्रयास सकारात्मक सोच भएका व्यक्तिहरुको संख्या कसरी बढाउन सकिन्छ भन्ने हो । समाजमा रहेका बेथिती र अव्यवस्थाहरु यीनै असल पात्रहरुको संख्या बढाएर मात्र न्युूनिकरण गर्न सम्भव छ । जति जति असल व्यक्तिको संख्या बढ्छ, समाजमा रहेका विकृति, असंवेदनशिलता, असहिष्णुता क्रमश घट्दै जान्छ । यसका लागि असल पात्रको खोजि र तीनको व्यवहारको सबलिकरण अहिलेको आवश्यकता हो ।
यस क्रममा अर्को महत्वपूर्ण पक्ष के छ भने कुनै पनि समाज कानुनद्धारा मात्र निर्देशित र परिचालित हुन सक्दैन । हरेक समाजका आफ्नै नियम, बन्धन, संस्कार र मूल्य मान्यता रहेका हुन्छन् ।यसरी कानुन र सामाजिक मुल्य मान्यताको आधारमा समाज चल्छ । यी दुइपक्षले एक अर्कोलाई सहयोग गरिरहेका हुन्छन् । एकले अर्कोलाई प्रभावित पनि बनाइरहेका हुन्छन् । जब जब यी पक्षहरुको प्रभाव समाज सन्चालनमा कम हुनपुग्दछ त्यति बेला समाज यी बाहेक अन्य पक्षहरुबाट निर्देशित र नियन्त्रित हुने क्रम बढ्छ । समाजको यस अवस्थालाई संक्रमणकाल भन्न सकिन्छ । समाज एउटा अवस्थाबाट अर्को अवस्थामा प्रवेश गर्ने क्रममा अनुभव गरिने वा देखिने अवस्था नै वास्तविक रुपमा संक्रमणकाल हो । संक्रमणकालको क्रममा पुराना मान्यता भत्कने, गल्तिहरु सुधार्ने र नयाँ मूल्य मान्यता बन्ने काम हुन्छ । अब प्रश्न उठ्छ, हाम्रो समाजमा संक्रमणकालको नतिजाको रुपमा के कस्ता मूल्य मान्यता बनिरहेका छन् त ? यहिनेर सोच्नुपर्छ, संक्रमणकालमा राम्रा मान्यतामात्र बन्दछन् भन्ने छैन् । सामान्यतया, प्रविधि, मानव सोच, भीषण युद्ध, प्राकृतिक विपत्ती, महासंकट आदिजस्ता कारणबाट समाज संक्रमणकालमा प्रवेश गर्ने हुन्छ । यस पश्चात समाज बदलिने क्रम अझ छिटो गतिमा हुन्छ । समाजको यस संक्रमणकालको असर व्यक्तिको बानी व्यहोरा, आदत र संस्कारमा स्वतह पर्दछ । फेरी समाजको संक्रमणकालमा राम्रा मूल्य, मान्यता र संस्कार विकास गर्ने दायित्व पनि व्यक्ति व्यक्तिमा रहेको हुन्छ । तसर्थ समाजलाई अपेक्षित गतिमा हिडाल्न पनि व्यक्तिको मूल्य, मान्यता, बानी, व्यहोरा र संस्कारआदिका बारेमा जोड दिनै पर्छ ।यसका लागि व्यक्तिले बाहिरबाट पनि असल व्यवहारअवलम्बन गर्न सक्नुपर्छ । सोका लागि पनि व्यक्ति स्वयम् तयार रहनुपर्छ । भित्रबाट गरिने प्रतिवद्धताका साथमा बाहिरबाट पनि राम्रा व्यवहार लिनका लागि व्यक्ति तयार बन्न सक्नुपर्छ ।
शिक्षा समग्र समाजको एउटा उप प्रणालीको रुपमा रहन्छ । समाजको संक्रमणकालिन अवस्थाको असर शिक्षा व्यवस्थापनमा पनि स्वभाविक रुपमा पर्दछ । सार्वजनिक विद्यालयको अवस्था किन सुध्रेन भन्ने प्रश्नको उत्तर यहिबाट खोज्नुपर्छ । किनकी यी विद्यालयहरु समाज विकासको गति अनुसार आफुलाइ बदल्न सकेन । अझ भनौ नयाँ समाजका आकाँक्षा, मूल्य मान्यता अनुरुप यी विद्यालय चल्न सकेनन् । यसबाट के सिकाइ हुन्छ भने समयको गति अनुसार पनि व्यक्ति, संगठन र संस्था बदलिन जरुरी छ । व्यक्तिको हकमा आफ्ना बानी व्यहोरामा परिवर्तनका लागि सदैव तयार रहनुपर्छ, अन्यथा पछाडि पर्ने सम्भावना रहन्छ ।
व्यक्ति बदलिनका लागि सार्बजनिक जवाफदेहीता बहन गर्ने संस्कार बसाल्न पनि आवश्यक छ । जवाफदेहीता वा उत्तरदायित्व बहन जे जस्तो नाम दिइए पनि आफूलाई तोकिएको काम गर्ने र कामको असर वा प्रभावको पनि जिम्मा लिने कार्य यसमा पर्दछ । अझ सरल अर्थमा भन्नुपर्दा व्यक्तिद्धारा आफुले गर्नु पर्ने काम गरियो गरिएन ?र त्यसबाट सृजित असर र प्रभाव जिम्मा लिइयो वा लिइएन ?भन्ने हो । कर्तव्य आफैले पुरा गर्नुपर्छ, अरुलाई सार्न मिल्दैन्, कसैको जिम्मामा रहेको काम उसको कर्तव्य हो, ड्यिूटीहो जुन आफैले गर्नुपर्छ र त्यसबाट सिर्जित असरको जिम्मा पनि व्यक्ति स्वयमले नै लिनुपर्छ । यस्तो धारणा विकास गर्नका लागि पनि व्यक्तिलाइ कर्तव्यबोध हासिल गराउनै पर्छ । यसबाट पनि व्यवहार बदल्नका लागि सहयोग पुग्न सक्छ । कसरी हरेक व्यक्ति आफ्नो अन्तरमन देखी निर्देशित भइ आफ्नो कर्तव्य पालना गर्न अग्रसर हुन्छ त ? यसका लागि इमान्दार प्रयास चाहिन्छ, असल संस्कार चाहिन्छ । अध्ययन, ध्यान योग, चिन्तन मनन र दायित्वबोधले थप सहयोग गर्न सक्छन् । अर्को अर्थमा भन्नुपर्दा सेल्फ गभर्निङको अबधारणा विकास गर्न सक्नुपर्छ । आत्म अनुशासनका उपायहरु अवलम्बन गर्नुपर्छ । यो नै जवाफदेहीता बहन हो ।
व्यक्तिबाट भए गरेका वा गर्ने कार्यहरु सार्वजनिक जानकारीमा ल्याउन लगाएर पनि व्यक्तिमा कर्तव्य बोध गराउन सकिन्छ । विद्यार्थीले विषयगतरुपमा हासिल गरेको उपलब्धी सार्वजनिक रुपमा विद्यालयमा टास्न लगाउन सकिन्छ । हुनत यसमा व्यक्तिगत गोपनियताको पनि प्रश्न उठाउने गरिन्छ । यसका लागि विद्यार्थीको नाम नदिइ अन्य विकल्प पनि प्रयोग गर्न सकिन्छ । विद्यार्थीहरुको नतिजा चित्रात्मक रुपमा पस्तुत गर्न सकिन्छ । सार्वजनिक सेवा प्रवाहको गुण र स्तरका बारेमा सेवाग्राहीको भनाइ पनि उपयोगी हुन सक्छ । यस्ताप्रस्तुती पछि विद्यालयका कार्यस्थलमा सुधार गर्न मैले के गर्न सक्छु भनेर प्रतिवद्धता जनाउन लगाउन सकिन्छ ।
सुधारका लागि अनुगमन र सहयोग अर्को उपाय हो । माथिल्लो निकाय वा पदाधिकारीले सोभन्दा तलका कार्य र कार्यान्वयनको अवस्था हेरेर सुझाव र सल्लाह दिने कार्य यसमा पर्दछ । कर्तव्य पालनाको लागि गरिने यस्तो उपायलाई दबाब मुलक उपाय अन्तर्गत पनि राख्न सकिन्छ । यसैगरी, सुधारका लागि व्यक्तिलाइ अरुले गरेका कार्य वा अभ्यास देखाएर वा हेर्न लगाएर त्यसबाट सिकाइ हासिल गराइ थप तत्पर बनाउन सकिन्छ । यस्तो कार्य स्वतफूर्त उपाय अन्तर्गत राख्न सकिन्छ ।
सुधारका लागि व्यक्तिलाइ दबाब दिने (सजाय वा दण्ड दिने) कार्य पनि हुन्छ । संक्रमणकालिन अवस्थामा यसले कम नतिजा दिन सक्छ किनकी दण्ड सजाय दिने र पाउने मिल्नका लागि अनेक हतकण्डा प्रयोग हुन पनि सक्छन् । तर पनि यसलाई अन्तिम विकल्पको रुपमा राख्नुपर्छ ।
हामीलाइ लाग्छ, एउटा पत्र पठाएको भरमा वा यस्तो गर भनेका भरमा व्यक्तिमा परिर्वतन आइ आल्छ, कर्तव्यबोध भइहाल्छ, कर्तव्यपालन गरिहाल्छन् भन्ने लाग्छ । यो कर्तव्यबोध, उत्तरदायित्व वा जवाफदेहिता पालना गर्न लगाउनका लागि व्यक्तिलाइ आन्तरिक स्पमा तत्पर बनाउन कसै न कसैले वातावरण बनाइदिने काम गर्नुपर्छ, यतिले मात्र पनि नपुग्न सक्छ । केहिलेकाँही दबाबका कार्यहरु पनि आवश्यक हुन्छन् । यसका साथमा स्वमुल्याङन, नतिजाको सार्वजनिकरण, नागरिक सुनुवाइ, सार्वजनिक सुनुवाइ आदिलाई प्रयोगमा ल्याउन सकिन्छ । यो यो नतिजा ल्याए यस्तो प्रोत्साहन पाउने र नल्याए यस्तो हुने भन्ने वस्तुगत सुचना र सो को प्रगति सार्वजनिक गर्ने र त्यसको आधारमा कर्तव्यबोध पालना गर्ने गराउने पद्धति विकास र पालना अहिलेको अर्को आवश्यकता हो ।