भदौं २७, काठमाडौं — प्रहरीले नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य तीन जनालाई प्रहरीले खोजि कार्य जारी राखेको बाँकेको धनौनी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषण थपलियाले जानकारी दिए ।
बाँके काङ्ग्रेसका सदस्य सुधांशु कोइरालाले सभापति कोइरालालगायतका काङ्ग्रेस कार्यकर्तामाथि नेकपाका कार्यकर्ताको एक समूहले मञ्चमै पुगेर आक्रमण गरेको दाबी गरेका छन् । तर काङ्ग्रेसको कार्यक्रम बिथोल्ने कुनै नीति नै नभएको भन्दै नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले उक्त आरोपलाई खण्डन गरेका छन् । अध्यक्ष खरेलले भने, “। काङ्ग्रेसका कुनै एक कार्यकर्तासँग हाम्रो पार्टीका समर्थक युवाहरुको व्यक्तिगत विवादले एक्कासि जन्माएको यो दुःखद् घटना मात्र हो ।”
नेपाली काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत हिजो आयोजना गरिएको कार्यक्रममा सहभागी भएका सभापति कोइराला लगायतका काङ्ग्रेस कार्यकर्तामाथि युवाहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेको थियो ।
आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाँच्चिएपछि उनको नेपालगञ्जस्थित वेष्टर्न अस्पतालमा उपचार गरिएको थियो । कोइरालाको हातको नाडीदेखि माथिको हड्डी भाँच्चिएकाले प्लाष्टर गरिएको सो अस्पतालका चिकित्सक डा विनोद थापाले बताए ।