भदौ २७, काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न साँस्कृतिक पर्वहरुलाई पर्यटनसँग जोड्नु पर्ने बताएका छन् ।
काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्राका अवसरमा शुक्रबार शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
नेपाल यति बेला आर्थिक सामाजिक रुपान्तरण गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा रहेको प्रधानमन्त्रीले सन्देशमा भनेका छन् “समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हाम्रा सांस्कृतिक महत्वका पर्वहरुलाई पर्यटन प्रवद्र्धनसँग जोड्नु आवश्यक छ ।” “प्राचीन महत्वका मौलिक विशेषता भएका पर्वहरु विदेशी पर्यटकको आकर्षण गर्ने कडी बन्न सक्छन् । त्यस पक्षलाई पनि आत्मसात गर्दै अघि बढ्न म सबैमा आग्रह गर्दछु ” उनले थपे ।
प्रधानमन्त्री ओलीले सांस्कृतिक विविधतालाई विभेदका रुपमा देखाएर नेपालीबीचको एकता धुमिल्याउने प्रयास भएपनि त्यसलाई परास्त गरिसकेको बताए । प्रधानमन्त्री ओलीले इन्द्रजात्रालाई सहकाल सहित मनाइने पर्वको रुपमा स्मरण गरे । उनले इन्द्रजात्रालाई साँस्कृतिक पर्वका रुपमा संरक्षण गरिएको बताए ।
“इन्द्रजात्राका बारेमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, विष्णु धर्माेत्तर पुराण, बृहत संहिता, भविष्य पुराण र संस्कृत भाषाका महाकवि कालिदासको रघुवंशमा पनि उल्लेख हुनुले यसको पौराणिकता पुष्टि हुन्छ ” भन्दै प्रधानमन्त्री ओलीले सन्देशमा पौराणिक कालदेखि निरन्तर कायम रहेका सांस्कृतिक पर्वहरुको जगेर्ना गर्नुपर्ने धारणा राखे ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदैछ ।
इन्द्रजात्राको अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।