भदौ, २६ काठमाडौं– नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज १४ गतेदेखि नयाँ नोट वितरण गर्ने तयारी गरिरहेको छ । राष्ट्र बैंकले तीन सरकारी बैंकसहित निजी बैंकहरुबाट पनि रकम सटहीको व्यवस्था मिलाउन लागेको जनाएको छ भने निजी बैंकहरुलाई भने निश्चित रकम मात्र उपलव्ध गराइने बताएका छन् ।
राष्ट्र बैंकले प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० दरका २० हजार रुपैयाँ उपलव्ध गराउने व्यवस्था गरेको छ । गत वर्षहरुमा काठमाडौंस्थित बैंकिङ कार्यालयबाट मात्र सटहीको व्यवस्था गर्ने गरिएको थियो तर यसपटक सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य वैंक र कृषि विकास बैंकबाट पनि नयाँ नोट सटहीको व्यवस्था गर्न लागिएको हो ।
नेपाल बैंकको काठमाडौं बैंकिङ कार्यालय, न्यूरोड,पाटन, कीर्तिपुर, बालाजु र भक्तपुरबाट सटही सुविधा पाउन सकिने छ भने राष्ट्र वाणिज्य बैंकको सिंहदरबार, नयाँ बानेश्वर, विशालबजार, नक्साल, टेकु र सानोठिमी, शाखाबाट पनि नयाँ नोट साट्न पाइने व्यवस्था गरिएको छ ।
कृषि विकास बैंकको रत्नपार्क, रामशाहपथ, गौशाला, कोटेश्वर र पाटनको मंगलबजारबाट नयाँ नोट साट्न मिल्ने व्यवस्था मिलाइएको जनाइएको छ ।