दक्षिण अफ्रिकामा हिंसा, ७ सय ५५ विदेशी सुरक्षित स्थानमा

भदौ २५—दक्षिण अफ्रिकामा भड्किएको हिंसाका कारण असुरक्षित महसुस गरेका विदेशी एवं आप्रवासी नागरिकलाई सुरक्षित स्थलमा राखिएको दक्षिण अफ्रिकी सरकारले जनाएको छ ।

पछिल्लो समय दक्षिण अफ्रिकाका विभिन्न शहरमा विदेशी एवं आप्रवासी नागरिक र स्थानीयबीच हिंसा भडकिएको छ । विदेशीका कारण आफ्नो रोजगार गुमेको भन्दै स्थानीयले विदेशी नागरिकका व्यवसायमाथि तोडफोड र आक्रमण गरेका थिए ।

रक्षामन्त्री नोसिभिवे मापिसाले राजधानी जोहानेसबर्गबाट ३५ किलोमिटर पूर्वतर्फको डिएच विलियम्स एन्ड शोलो कम्युनिटी सेन्टरमा विदेशी नागरिकलाई सुरक्षासाथ राखिएको जानकारी दिए । त्यहाँ करिब २ सय २८ जना शरणार्थी बालबालिका पनि रहेका छन् ।

दक्षिण अफ्रिकामा एक साता यता हिंसा भड्किएको थियो । विदेशी नागरिकको हातमा मुलुकको अर्थतन्त्र गएको भन्दै विदेशी नागरिकमाथि स्थानीयले आक्रमण गरेका हुन् । रक्षामन्त्री मापिसाका अनुसार घटनामा संलग्न रहेको आरोपमा हालसम्म करिब ७ सय जनालाई गिरफ्तार गरिएको छ । मंगलबारसम्म हिंसाका कारण १२ जना मारिएका छन् जसमा १० जना दक्षिणी अफ्रिकी नागरिक छन् ।

उनले विदेशीलाई पर्याप्त मानवीय सहायता उपलब्ध गराइएको बताए । यसै साता जिउज्यानको असुरक्षाको कारण देखाउँदै ६ सय ४० जना नाइजेरियाली नागरिक फर्कदै छन् । रक्षामन्त्री मापिसाले दक्षिण अफ्रिका विदेशी नागरिकप्रति असहिष्णु मुलुक नभएको भन्दै कानुन हातमा लिने जोसुकैमाथि कडा कारबाही गरिने बताए ।

एजेन्सी