भदौं २४,काठमाडौं—श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले युएईलाई पराजित गरेको छ ।
मंगलबार भएको खेलमा युएईलाई १६० रनले पराजित गर्दै नेपालले सान्त्वना जित निकाल्न सफल भएको हो ।
एफटिजेट स्पोर्ट्स कम्प्लेक्समा नेपालले जीतका लागि २ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेकोमा युएई मात्र ३४.४ ओभरमा १२५ रनमा अलआउट हुनपुग्यो ।
नेपाली बलर चम्किएको खेलमा युएईका लागि भ्रितय अर्भिन्दले सर्वा्धिक २८ रन जोडे । यस्तै अलिसान सराफुले २१ तथा ओसामा हसनले १६ रन बनाए ।
युएईलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले ३ विकेट लिए । यस्तै राशिद खान, सुर्य तामाङ र पवन सरार्फले २र२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २८५ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ८४ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।
यस्तै सन्दीप जोराले ४८ रन बनाउदा आसिफ शेखले ४५ रन बनाए । त्यस्तै राशिद खानले ४४ र कमल सिंह ऐरीले ४१ रन बनाए । कुशल मल्लले २२ रन जोडे ।
युएईका आकाश ताहिर र सन्चित शर्माले ३र३ विकेट लिए ।
जितसँगै समूह ’बी’ मा रहेको नेपालले ३ खेलमा २ अंक जोड्यो । समूह चरणबाटै बाहिरिएको नेपाल तेस्रो स्थानमा रह्यो । तीनै खेल गुमाएको युएई पुछारमा रहदै प्रतियोगिताबाट बाहिरियो ।
यसअघि नेपालले पहिलो खेलमा श्रीलंकासँग ५ विकेटको हार व्यहोरेको थियो । यस्तै दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित हुँदा नेपालको सेमिफाइनल सम्भावना सकिएको थियो ।
यस समूहबाट श्रीलंका र बंगलादेशले सेमिफाइनलमा स्थान बनाएको छ ।