भदौ, २४ काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय अपराध महाशाखा टेकु, महानगरीय प्रहरी परिसर भद्रकाली र नेपाल पुलिस क्लव भृकुटीमण्डपमा निर्माण हुने बहुउद्देश्यीय भवनहरुको मंगलबार छुट्टाछुट्टै शिलान्यास गरेका छन् । शिलान्यासपछि प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारबाट जग्गा प्राप्ती हुनु आफैंमा उपलब्धी भएको चर्चा गर्दै सबै भवनहरु पारदर्शीरुपमा काम हुने गरी निर्माण गरिने बताए । ‘विगत २५ वर्षदेखि धेरैको हृदयमा बस्न सफल पुलिस क्लवले आगामी दिनमा अपेक्षाअनुसारको विश्वसनीय सेवा प्रदान गर्ने विश्वास छ,’ उनले भने । प्रहरी महानिरीक्षक खनालले जसरी भवनहरु सुन्दर हुन्छन्, त्यसैगरी सुन्दर भवनसँगै प्रहरी सेवालाई थप परिस्कृत गर्दै नयाँ उर्जा, निष्ठा एवम् इमान्दारिताकासाथ सुन्दर सेवा प्रवाह गर्न प्रहरी सदैव कटिबद्ध रहेको बताए ।
अपराध महाशाखा तथा परिसरमा कसुर अनुरुपको हिरासत कक्षको व्यवस्थाको साथै सेवाग्राहीमैत्री संरचना समेत उक्त नयाँ भवनमा हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी कार्यालयले आफ्ना कार्य कानून सम्मत, सेवाग्राहीमैत्री र पारदर्शी रुपमा गर्नुपर्ने बताए । ‘अनुसन्धानको क्रममा पक्राउ परेका सबैलाई प्रहरीको व्यवहार समान हुने छ,’ उनले भने, ‘कोही मानिस प्रहरी कार्यालयमा आयो भन्दैमा के परेछ भन्दै हेर्ने दृष्टिकोणमा गलत बुझाई नहोस् । साथै मैले मेरो प्रहरीलाई सूचना दिन र जाने बुझेको कुरा बताउन आएको हो भनी सूचना दिन आउनेलाई छुट्टै डेस्क हुन्छ र आफ्नो कुरा राख्न पाईन्छ ।’
महिला हिंसा, बालबालिकामाथि हुने अन्याय, साइबर अपराध सँगसँगै मानव बेचबिखन जस्ता अपराध निस्तेज पार्न नेपाल प्रहरी संवेदनशील भएर अगाडि बढेको र सरोकारवाला निकायहरुसँग सहकार्य एवम् समन्वय गर्दै जानेमा उने जोड दिए ।
प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईञ्जिनियर लोकेशचन्द्र सिंहले निर्माण हुने भौतिक संरचनाका सम्बन्धमा संक्षिप्त जानकारी प्रस्तुत गर्दै शिलान्यास सम्पन्न निर्माण योजनाहरुलाई समयमै तोकिएको गुणस्तर सहित सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल सरकारबाट प्राप्त ९ रोपनी जग्गामा निर्माण हुने महानगरीय अपराध महाशाखाको भौतिक संरचनाले ७५ हजार वर्गफिट क्षेत्रफल ओगटने छ । नेपाल सरकारबाट प्राप्त १५ रोपनी जग्गामा निर्माण हुने महानगरीय प्रहरी परिसर काठमाडौंको भौतिक संरचनाले १ लाख ६५ हजार वर्गफिट क्षेत्रफल ओगटने छ । २६ रोपनी २ आना १ पैसा ३ दाम क्षेत्रफल रहेको नेपाल पुलिस क्लवको नवनिर्माण हुने भौतिक संरचनाले ६० हजार वर्गफिट क्षेत्रफल ओगटने छ । तीन वटै संरचना २ वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्य रहेको छ ।
नवनिर्माण हुने महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको भवन आधुनिक साथै सुविधायुक्त एवं कार्यालयको कार्यप्रकृति बमोजिम कार्यालय, ब्यारेक, मिटिङ हल, व्यायाम हल, मेश र बाथरुम आदिको व्यवस्थापन गरिने छ । सेवाग्राहीले सहजताका साथ सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले आवश्यक संख्यामा कार्यालय कक्ष, प्रतिक्षालय, चमेनागृह र खुल्ला स्थानको उत्तम एवं सुरक्षित प्रबन्ध गरिने छ ।
दुवै संरचनाहरुमा भूकम्प प्रतिरोधात्मक, अपाङ्गमैत्री, महिलामैत्री, वातावरणमैत्री हुनुको साथै वेसमेन्ट पार्किङको समेत व्यवस्था गरिनेछ ।
साथै नवनिर्माण हुने नेपाल पुलिस क्लवको बहुउद्देश्यीय भवनमा अत्याधुनिक सुविधा सहितको मुख्य हल र अन्य २ वटा कन्फ्रेन्स हल तथा वेसमेन्ट पार्किङको व्यवस्था गरिनेछ । भवन अत्याधुनिक प्रविधि अनुरुप डिजाइन गरिएको छ ।