चिनियाँ विदेशमन्त्री वाङ स्वदेश फिर्ता

भदौ २४,काठमाडौं– नेपालको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी विशेष विमानमार्फत् आज अपराह्न स्वदेश प्रस्थान गरेका छन् ।

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले बिदाइ गरे।

भ्रमणको बेला दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो । वार्तामा पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी नेपाल र चीनबीच विभिन्न ३ वटा समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ ।

पहिलो सम्झौता मनाङमा अस्पताल बनाउने रहेको छ । करिव ३५ करोड रुपैयाँ लागतमा चीनले अस्पताल बनाइदिने भएको हो । अर्को सम्झौता आपतकालीन राहतका लागि ५ हजार टेन्ट उपलब्ध गराउने छ । दुबै सम्झौतामा अर्थसचिव र चाइना डेभलपमेन्ट को अपरेशनका उपाध्यक्षले हस्ताक्षर गरेका छन् । अर्को सम्झौता चिनियाँ स्वयं सेवक शिक्षकहरु नेपाल आउनेछ । यसमा शिक्षासचिवले हस्ताक्षर गरे ।