नेपाल आर्मीका भगौडादेखि विप्लव कार्यकर्तासम्मका लुटेराहरु पक्राउ

भदौं २२,काठमाडौं—राजधानीबाट प्रहरीले दुई वटा चाइनिज पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित ८ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेपाल आर्मीका भगौडादेखि विप्लव कार्यकर्तासम्म रहेका छन्। उनीहरुबाट प्रहरीले प्रयोग गर्ने पेस्तोल समेत बरामद भएको छ ।

पक्राउ पर्नेहरुमा गोरखाका ३८ वर्षीय कुशल अधिकारी, नुवाकोटका २९ वर्षीय रामबहादुर तामाङ, ३० वर्षीय पिटर तामाङ, ३० वर्षीय राजन तामाङ र २५ वर्षीय धर्मराज तामाङ, गुल्मीका ३० वर्षीय युवराज भन्डारी, रसुवाका २९ वर्षीय योर्साङ घले र धादिङका २७ वर्षीय विजय तामाङ रहेका छन् ।

कुशल, राम, विजय, पिटर र धर्म काठमाडौं महानगरपालिका १६ मा रहेको हाई रेस्टुरेन्ट एन्ड डान्स बारका सन्चालकहरु हुन् । प्रहरीका अनुसार कुशल नेपाल आर्मीका भगौडा हुन् भने योर्साङ विप्लव माओवादी निकटका रहेका छन्।

बरामद भएका हतियार अवैधरुपमा भित्रिएका सुन लुट्ने, नक्कली सुनलाई सक्कली भनि बेच्ने र डकैतीमा प्रयोग हुने गरेको थियो । बौद्धको एक घरमा लुटपाटको योजना बनाइरहेका बेला गिरोहलाई नियन्त्रण गरेको दावी काठमाडौं प्रहरी प्रवक्ता डीसपी होबिन्द्र बोगटीले गरे ।

काठमाडौं प्रहरी प्रवक्ता बोगटीले पक्राउ परेका अभियुक्तहरु प्रहरीको भेषमा पनि लुटपाटमा संलग्न हुने गरेको जनकारी दिए । उनले भने ‘ पक्राउ परेकाहरुको हुलिया प्रहरीको जस्तै छ । उनिहरु आफुलाई प्रहरी बताएर लुटपाट गर्ने गरेको देखिन्छ’, ।