भदौं २२, एजेन्सी —विश्व विजेता फ्रान्स युरो छनोटको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा अल्बानियालाई ४–१ गोल अन्तरले हराउँदै फ्रान्स युरोपियन च्याम्पियनसिपको छनोटको शीर्ष स्थानमा उक्लिएको हो ।
आयोजकले पाहुना टोली अल्बानियाको राष्ट्रिय गान ढिलो गरि मात्र बजाउँदा खेल १० मिनेट ढिला सुरु भएको थियो । सुरुमा अल्बानियाको राष्ट्रिय गानको समयमा आयोजकले गलत धुन बजाएका थिए । अन्तिममा आयोजकले माफी मागे ।
किंग्सले कोमनले दुई गोल गरेको खेलमा फ्रान्सले फराकिलो जित निकाल्न सफल भएको हो । फ्रान्सका लागि ओलिभर जिराउड र जोनाथन इकोनिले समेत गोल गरेका थिए ।
राफेल भरानोको पासमा खेलको आठौं मिनेटमा कोमनले फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।